शेयर बजार सुस्ताएका बेला बोर्डले सार्वजनिक गर्यो सुधार तथा विकासका कार्यक्रम

0
Shares

विगत लामो समयदेखि शेयर बजारमा देखिएको सुस्तताले लगानीकर्ता निरुत्साहित भइरहेका बेला नेपाल धितोपत्र बोर्डले पूँजी बजार सुधार तथा विकासका लागि गरेका पहलहरु सार्वजनिक गरेको छ ।

निरन्तर बजार घट्दा निराश बनेका लगानीकर्तालाई बोर्डले धितोपत्र बजारको सुधार, विकास तथा विस्तारका लागि अगाडि बढाईरहेका कामकारवाहीहरुका बिषयमा जानकारी गराएको हो । बोर्डले पूँजी बजार सुधारका लागि चालु आर्थिक वर्षको बजेट, आवधिक योजनालगायत विभिन्न सरोकारवालाहरुको सुझावका आधारमा नीति तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयन प्रक्रिया अघि बढाइएको बताएको छ ।

धितोपत्रको दोश्रो बजारको पहुँच अभिवृद्धिका लागि देशका प्रमुख आर्थिक केन्द्रहरूमा धितोपत्र दलाली सेवा विस्तार गर्दै लगिएको र आगामी दिनमा यसलाई थप क्षेत्रमा विस्तार गरिने बोर्डले जनाएको छ ।

हकप्रद शेयर निष्काशनमा हाल लगानीकर्ताहरुले आफ्नो हकसम्मको मात्र आवेदन दिन सक्ने व्यवस्था रहेकोमा आगामी दिनमा लगानीकर्ताले आफ्नो हक भन्दा शत प्रतिशतसम्म बढी आवेदन दिन सक्ने गरी धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को संशोधन पारित गरी संशोधन प्रकृया अगाडी बढाइएको पनि बोर्डले उल्लेख गरेको छ ।

नेपाल सरकारको वित्तीय क्षेत्र विकास रणनीति अन्तर्गत रहेको नेपाल स्टक एक्सचेञ्ज लि. (नेप्से) को पुर्नसंरचना गर्ने रणनीति अनुरूप हाल नेप्सेमा रहेको नेपाल राष्ट्र बैंकको शेयर विनिवेश गर्ने कार्य अगाडि बढिरहेको र यसबाट नेप्से थप व्यवसायिक एवं प्रभावकारी हुने अपेक्षा बोर्डको छ ।

धितोपत्र बजारमा लगानीकर्ताहरुको सहभागिता बढाउँदै लैजान देशका विभिन्न स्थानमा लगानीकर्ता प्रशिक्षण कार्यक्रम तथा रेडियोमार्फत् पूँजी बजारसम्बन्धी कार्यक्रमहरु सञ्चालनमा ल्याइएको जानकारी पनि बोर्डले गराएको छ ।

भेञ्चर क्यापिटल र प्राइभेट इक्विटी फण्डलाई धितोपत्र बजारमा प्रवेश गराउने उद्देश्य अनुरूप विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ लागू गरिएको, उक्त नियमावली अन्तर्गत हाल ५ वटा कोषहरूले अनुमतिका लागि बोर्डमा निवेदन पेश गरेकोमा सो को अध्ययन भैरहेको बोर्डले बताएको छ ।

यस्तै, धितोपत्रको दोस्रो बजारलाई स्वच्छ एवं पारदर्शी बनाउनका लागि बजारमा हुन सक्ने भित्री कारोबारलाई निरूत्साहित गर्न भित्री कारोबार निषेधसम्बन्धी नियमावली, २०७६ बोर्डबाट पारित गरी उक्त नियमावली स्वीकृतिको चरणमा रहेको बोर्डको भनाई छ ।

नेपाल सरकार, बोर्ड तथा अन्य निकायहरुबाट भइरहेका उपर्युक्तानुसारको कामकारवाहीहरुबाट धितोपत्र बजार पारदर्शी, स्वस्थ एवं प्रभावकारी भई बजारको दिगो विकासमा सघाउ पुग्ने बोर्डको अपेक्षा रहेको छ ।