धितोपत्र बोर्डको भरोसाले थामियो बजारको गिरावट, बिक्री चाप घट्दा नेप्से बढ्यो

0
Shares

निरन्तर ओरालो लागिरहेको शेयर बजारमा बुधबार सुधार आएको छ । नेपाल धितोपत्र बोर्डले पूँजी बजार सुधार, विकास तथा विस्तारका लागि गरिरहेका आधा दर्जन बढी कामहरु सार्वजनिक गरेपछि लगानीकर्ता मनोबल फर्किदा बजार सकारात्मक हुन पुगेको हो ।

शेयर बजार सुस्ताएका बेला बोर्डले सार्वजनिक गर्यो सुधार तथा विकासका कार्यक्रम

मंगलबार बोर्डले एक विज्ञप्ति जारी गर्दे शेयर बजारको सुधार र विकासका लागि गरिरहेका कामहरुको अवस्थाका बारेमा जानकारी गराएको थियो । बुधबार नेप्से ८.३० अंकले बढेर १११७.४६ विन्दुमा पुगेको छ । यसदिन १६५ कम्पनीको २१ करोड बढीको कारोबार भयो।

शेयर बजारले सुधारको संकेत देखाउँदा शेयर बिक्रीको चाप घट्न जादा कारोबार रकम घटेको छ भने नेप्से सूचकमा सुधार आएको हो ।

कारोबारमा आएका व्यापार समूह बाहेक सबै समूहका सूचक बढेका छन् । साल्ट्र ट्रेडिङको शेयर मूल्य झण्डै दश प्रतिशतले घटेपछि यो समूह ओरालो लागेको हो ।

यसदिन एनएमबि बैंकको सबैभन्दा धेरै २ करोड ७५ लाख बराबरको शेयर किनबेच भयो । साल्ट्र ट्रेडिङको शेयर मूल्य सबैभन्दा धेरै घट्दा रिडि हाइड्रो र गोर्खाज फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै दश प्रतिशतकै हाराहारीमा बढेको छ ।