शेयर बजार साढे १३ अंकले उक्लिदा कारोबार रकम १८ करोडले बढ्यो

0
Shares

गत सातादेखि लगातार बढ्न थालेको शेयर बजारले यो साता पनि निरन्तरता पाएको छ । आइतबार करिब साढे तीन अंक बढेको बजारमा सोमबार दोहोरो अंकको सुधार आएको छ ।

सोमबार नेप्से १३.५१ अंकले बढेर ११४८.८९ अंकमा पुगेको छ । पछिल्लो पाँच कारोबार दिनमा मात्रै नेप्से झण्डै ३७ अंकले उकालो लागेको छ। सोमबारको बजारमा १७३ कम्पनीको शेयर ४६ करोड ४२ लाख बराबरमा किनबेच भयो। कारोबार रकम अघिल्लो दिनको तुलनामा १८ करोड बढी हो।

यसदिन नेपाल बैंकको शेयर कारोबार सबैभन्दा धेरै २ करोड ३० लाख बढीको भयो । एनएमबि बैंक, डिप्रोक्स लघुवित्त, स्वावलम्बन लघुवित्त लगायतको उच्च कारोबार भएको छ ।

कारोबारमा आएका १२ समूहमध्ये अन्य र म्युचुल फण्ड बाहेकका सबै समूहका सूचक बढेका छन् । यसदिन बैंकिङ ७.९१, डेभलपमेन्ट बैंक २८.१५, जलविद्युत १६.८, निर्जीबन बीमा १५६.३४, उत्पादन तथा प्रशोधन २९.७३, माइक्रोफाइनान्स ५०.४३, जीवन बीमा समूहको उपसूचक ६०.९८ अंकले बढेको छ ।

यसदिन समिट लघुवित्त, नाडेप लघुवित्त, नेपाल सेवा लघुवित्त, समता र मिथिला लघुवित्तको शेयर मूल्ल्य दश प्रतिशतका हाराहारीमा बढेको छ ।धेरै शेयर मूल्य बढ्ने कम्पनीको सूचीमा लघुवित्त कम्पनीहरु परेका छन् ।

यसदिन नबिल इक्वीटि फण्ड, सिभिल बैंक, एनआईसी एसिया ब्यालेन्स फण्डका लगानीकर्ताले गुमाएका छन् । नबिल इक्विटी फण्डको इकाईमूल्य सबैभन्दा धेरै ५.७४ प्रतिशत र सिभिल बैंकको शेयरमूल्य २.१४ प्रतिशतले घटेको छ ।