चार महिनामा ३३ अर्बको धितोपत्र थपियो, आईपीओ मात्रै साढे १० अर्बको

0
Shares

चालु आर्थिक वर्षको पहिलो चार महिनामा धितोपत्र बजारमा ३३ अर्ब ११ करोड रुपैयाँ बराबरको धितोपत्र थपिएको छ ।

साउनदेखि कार्तिक महिनासम्मा गरी साधारण सेयर (आईपीओ), बोनस, हकप्रद, डिबेन्चर र अन्य शेयर समेत गरी सो मात्राको धितोपत्र थपिएको राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार यसवधिमा १० अर्ब ५२ करोड रुपैयाँ बराबरको आईपीओ, आठ अर्ब ९ करोड रुपैयाँ बराबरको बोनस र एक अर्ब ४५ करोड रुपैयाँ बराबरको हकप्रद शेयर नेप्सेमा थपिएको छ ।

त्यसैगरी, चार महिनाको अवधिमा ६ अर्ब बराबरको डिबेन्चर(ऋणपत्र) , ३ अर्ब ६४ करोड बराबरको म्युचल फण्ड र ३ अर्ब ४२ करोडको अन्य धितोपत्र नेप्सेमा सूचीकृत भएको हो । उक्त अवधिमा नेपाल धितोपत्र बोर्डले विभिन्न बैंकहरुलाई ३ अर्ब ४० करोड बराबरको ऋणपत्र निष्काशनको अनुमति दिएको छ ।

कार्तिक मसान्तमा सूचीकृत ४ अर्ब ४३ करोड शेयरको चुक्ता मूल्य ४३४ अर्ब ९२ करोड रुपैयाँ रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । सो अवधिसम्म नेप्सेमा सूचीकृत कम्पनीको संख्या २१५ पुगेको छ ।

सूचीकृत कम्पनीमध्ये १५२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ३२ जलविद्युत् कम्पनी, १९ उत्पादन र प्रशोधन उद्योग, ४/४ होटल तथा व्यापारिक संस्था र ४ अन्य समूहका रहेका छन् ।