एनएमबि बैंकको लाभांशमा लगानीकर्ता झुम्मिदा कारोबारमा सुधार

0
Shares

एनएमबि बैंकको लाभांश सुरक्षित गर्ने क्रममा उच्च कारोबार भएपछि अघिल्लो दिनको तुलनामा शेयर कारोबारमा सुधार आएको छ । बैंकको लाभांशमा लगानीकर्ता आर्कषित भएपछि शेयर मूल्य बढेर कारोबार भएको छ ।

एनएमबि बैंकले गत आर्थिक बर्षको मुनाफाबाट प्रस्तावित ३५ प्रतिशत लाभांश पारित गर्न पुस २४ गते साधारण सभा बोलाएको छ । बैंकले साधारण सभा प्रयोजनका लागि शुक्रबार (पुस ४ गते) देखि बुक क्लोज गर्दैछ । जस अनुसार पुस ३ गतेसम्म कायम शेयरधनीले लाभांश पाउने भएपछि कारोबार उच्च भएको हो ।

कुल १७२ कम्पनीको १२ लाख ८९ हजार कित्ता शेयर ४१ करोड ९० लाख बराबरमा किनबेच भयो । कारोबार रकम अघिल्लो दिनको तुलनामा १२ करोड बढी हो । यसदिन एनएमबि बैंकको मात्रै १२ करोड ३१ लाख बराबरको शेयर किनबेच भयो । जुन कुल कारोबारको २९ प्रतिशत बढी हो ।

विहीबार नेप्से सूचक २.४२ अंकले घटेर ११४९.६४ विन्दुमा झरेकोे छ । बजारमा कारोबारमा आएका ६ समूहका सूचक बढेका छ भने ६ समूहकै सूचक घटेका छन्।

यसदिन नेपाल फाइनान्सको शेयर मूल्य दश प्रतिशतले बढेको छ । सबैभन्दा धेरै दिव्यश्वरी हाइड्रोको शेयर मूल्य घट्यो ।