सूचक घटेपनि शेयर कारोबारले लियो गति, शिवममा आकर्षण, टिकेन होटलको वृद्धि

0
Shares

साताको अन्तिम दिनको शेयर बजारमा सुधार नआएपनि कारोबारले गति समातेको छ । तीन अंक बढीले घटेको बजारमा अघिल्लो दिनको तुलनामा १६ करोड बढीको कारोबार हुँदा शिवम सिमेन्ट लगानीकर्ताको पहिलो रोजाईमा परेको छ ।

बजार खुेलेको करिब दुई घण्टासम्म नेप्सेको वेबसाइट नचल्दा ब्रोकर कार्यालयमा नपुगेका लगानीकर्ता बजारको सूचना लिनबाट बन्चित भएका थिए । नेप्सेले वैकल्पीक व्यवस्थाको लागि बजारको सूचना हेर्न नयाँ वेबसाइट प्रयोग गर्न लगानीकर्तालाई आग्रह गरेपनि नयाँ वेबसाइट समेत राम्रोसँग नचलेको गुनासो आएको थियो ।

नेप्सेको वेबसाइटमा समस्या देखिएपनि विहीबारको कारोबारले भने बजारलाई गति दिएको छ । यसदिन १७० कम्पनीको १६ लाख ६० हजार कित्ता शेयर ५३ करोाड २२ लाख बराबरमा किनबेच भए । कारोबार रकम अघिल्लो दिनको तुलनामा १६ करोड बढी हो । कारोबार बढेपनि नेप्से सूचक भने ३.२९ अंकले घटेर ११६६.२१ अंकमा झरेको छ

कुल १२ समूहको कारोबार भएको बजारमा जलविद्युत, उत्पादन र लघुवित्तका बाहेक सबै समूहका सूचक नकात्मक रहे । शिवम सिमेन्टको मूल्य बढ्दा उत्पादन मुलक समूहको सूचक ४१ अंक माथि पुगेको छ । अघिल्लो दिन उच्चदरले बढेको होटल समूहको सूचक आज घट्यो । यो समूहको सूचक सबैभन्दा धेरै ३.६६ प्रतिशत अर्थात करिब ७३ अंकले ओरालो लागेको छ ।

यसदिन उच्च कारोबार कम्पनीको अग्रपक्तिमा शिवम सिमेन्ट परेको छ । जसको ९ करोड २१ लाख बराबरको शेयर किनबेच भयो । दोस्रो उच्च कारोबार हुने नेपाल लाइफको तीन करोड बढीको शेयर किनबेच भयो ।

जोशी हाइड्रोको शेयर मूल्य सबैभन्दा धेरै ८.३३ अंकले बढ्दा पनि शेयर मूल्य प्रतिकित्ता ६५ रुपैयाँ मात्र पुगेको छ । नयाँ नेपाल लघुवित्त, युनियन हाइड्रो लगायतको शेयर मूल्य बढेको बजारमा सबैभन्दा धेरै हाइड्रो इलेक्ट्रिसिटि इन्भेष्टमेन्टको शेयर मूल्य सबैभन्दा धेरै ७ प्रतिशत बढीले घट्यो । अघिल्लो दिन दश प्रतिशतले बढेको होटल ओरियन्लको शेयर मूल्य ५ प्रतिशत बढीले घटेको छ ।