धितोपत्र बोर्डमा नयाँ अध्यक्षको आगमन र अर्थमन्त्रीको बर्हिगमन चर्चाले नेप्सेमा दोहोरो अंकको सुधार

0
Shares

साताको पहिलो दिन आइतबार शेयर बजार परिसूचक नेप्सेमा १६ अंकको सुधार आएको छ। धितोपत्र बोर्डमा नयाँ अध्यक्षको चयन र अर्थमन्त्री डा. युवराज खतिवडाको बर्हिगमन हुने चर्चाको बीच शेयर बजारमा दोहोरो अंकको सुधार देखिएको हो।

सोमबार बस्ने मन्त्रीपरिषद् बैठकले पूँजीबजारको नियामक निकायको प्रमुख नियुक्त गर्ने र आइतबार राष्ट्रिय सभा सदस्यहरुको मनोनयन दर्ता रहेकाले अर्थमन्त्री खतिवडा नदोहोरिने समाचार सञ्चार माध्यमका चर्चाका बीच नेप्से नवौं दिनपश्चात पुन दोहोरो अंकले बढेको हो। यसअघि पुस ७ गते सोमबार नेप्से १७ अंकले उकालो लागेको थियो।

राष्ट्रिय सभा सदस्यको माघ ९ गते हुने निर्वाचनका लागि बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता हुने समय निर्धारण गरिएको थियो। कूल ५९ सदस्यीय राष्ट्रिय सभाका एक तिहाई अर्थात १९ जना सदस्यको आगामी फागुन २० गते पदावधि सकिँदैछ।

त्यसमध्ये १८ जनाको निर्वाचनका माध्यमबाट चयन हुने छ भने एक जनाको सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनयन हुनेछ। यद्यपी सरकारले चाहेको खण्डमा मनोनयनबाट खतिवडा पुन फर्कनसक्ने सम्भावना जिवितै रहेको जानकारहरु बताउँछन्।

उता अर्थमन्त्रालयद्वारा गठित छनोट समितिले गत कात्तिक महिनादेखि रिक्त रहेको नेपाल धितोपत्र बोर्डमा नयाँ अध्यक्ष पदका लागि आवेदन दिएकामध्ये भीष्मराज ढुंगाना, निरज गिरी र केशव श्रेष्ठको नाम सिफारिस गरेको छ। अब सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले तीन जनामध्ये एकलाई अध्यक्ष चयन गर्नेछ।

अर्थ मन्त्रालयबाट कात्तिक २० गते राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार पफुँयालको संयोजकत्वमा गठित तीन सदस्यीय उक्त समिति गठन गरेको थियो। उक्त समितिले पुस १४ गते सोमबार पहिलो चरणमा सर्टलिस्टमा परेका पाँच जनाहरु भीष्मराज ढुंगाना, निरज गिरी, केशव श्रेष्ठ, सिताराम थपलिया र नवराज अधिकारी मध्येबाट व्यक्तिगत विवरण, कार्यानुभवको र कार्यपत्र प्रस्तुतीको आधारमा ढुंगाना, गिरी र श्रेष्ठको नाम सिफारिस गरेको थियो।

धितोपत्र बोर्डको नयाँ अध्यक्ष आएपछि नै बाँकी काम अघि बढ्ने भएपछि लगानीकर्ता हौसिएका हुन्। पुस २० गते आइतबार नेप्से १६.०९ अंकले बढेर एक हजार १८२ दशमलव ३१ अंकमा पुगेको छ। ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स् पनि १.३९ प्रतिशतले बढेर २५५.६९ बिन्दुमा पुगेको छ भने कारोबारमा आएका १२२ कम्पनीको शेयरमूल्य बढ्दा समग्र उपसमूहको सूचकमा हरियाली छाएको छ। २१ कम्पनीको मात्र शेयरमूल्य घटेको छ। 

बैंकिङ्ग उपसमूहको सूचक १६.७४, व्यापार ६.३५, होटल १०.६४, विकास बैंक १९.३६, जलविद्युत् ८.६७, वित्त ३.८६, निर्जीवन बीमा ५९.२९, उतपादन २.३९, अन्य २.७७, लघुवित्त ४०.२४, जीवन बीमा ८३.६८ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले बढेको छ ।

यसदिन १७३ कम्पनीको ७१ करोड २३ लाख ५७ हजार रुपैयाँ बराबरको शेयर खरीद बिक्री भएका छन्। २० लाख ८२ हजार ७१८ कित्ता शेयर ९ हजार २९५ पटक खरीद बिक्री हुँदा सो रकम बराबरको कारोबार भएको हो।

आइतबार शिवम् सिमेन्टस्को सबैभन्दा धेरै ५ करोड ६२ लाख २७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। एनआईसी एशिया बैंक, ग्रामीण विकास लघुवित्त, नेपाल लाईफ, हिमालय डिष्टिलरी, र नागरिक लगानी कोषको २ करोड बढीको शेयर कारोेबार भयो।

आइतबार वोमी माइक्रोफाइनान्स र ग्रामीण विकास लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। उता नेपाल फाइनान्स र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य ५ प्रतिशत बढीले घटेको छ।