स्वावलम्बन लघुवित्तको ४० प्रतिशत लाभांश पारित, कार्यक्षेत्र विस्तारको योजना

0
Shares

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट २६ प्रतिशत बोनस शेयर सहित कूल ४० प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ ।

आइतवार काठमाडौंमा सम्पन्न संस्थाको १८ औं वार्षिक साधारण सभाले शेयरधनीहरुलाई २६ प्रतिशत बोनस शेयर र १४ प्रतिशत कर सहितको नगद लाभांश दिने प्रस्ताव पािरत गरेको हो ।

संस्थाको हाल चुक्ता पूँजी ६२ करोड ८८ लाख रुपैयाँ छ। २६ प्रतिशत बोनस वितरण पश्चात ७९ करोड २३ लाख ९८ हजार रुपैयाँ पूँजी पुग्नेछ।

साधारण सभाले आ.व. २०७५/७६ को वासलात, नाफा–नोक्सान हिसाव लगायत अन्य वित्तीय विवरण समेत पारित गरेको छ ।

संस्थाले हालसम्म ६१ जिल्लाका १४० शाखा/उपशाखा कार्यालय तथा ९ वटा इलाका कार्यालयबाट २ लाख ४५ हजार १ सय १६ महिला ग्राहक सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

सो अवधिमा वित्तीय संस्थाले १५ अर्व ६३ करोड ३३ लाख कर्जा प्रवाह गरेको छ । वित्तीय संस्थाको आन्तरिक पूँजी निर्माणमा सहयोग पुग्ने सदस्यको बचत यस अवधिसम्ममा ८ अर्व २६ करोड ४४ लाख ५ हजार रहेको छ ।

राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाका रुपमा कारोवार गरिरहेको र वित्तीय पहुँच कम रहेका देशका विभिन्न हिमाली तथा पहाडी ग्रामीण क्षेत्रमा कार्यक्षेत्र विस्तारको योजना साथ अगाडि बढेको संस्थाको अधिकृत पूँजी १ अर्ब रुपैयाँ छ ।

उक्त साधारणसभाले सर्वसाधारण सेयरधनी समूह “ख” अन्तर्गत सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालकमा विष्णु प्रसाद त्रिपाठीलाई निर्विरोध निर्वाचित गरेको छ ।