दुई फाइनान्सले साधारण सभाका लागि भोलि बुकक्लोज गर्दै

0
Shares

पुस मसान्त नजिकिँदै जाँदा धमाधम सूचीकृत कम्पनीहरुको साधारण सभा र शेयरधनी दर्ता किताब बन्द मिति (बुकक्लोज) नजिकिएका छन्। यससँगै पुस २२ गते मंगलबार गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स र समृद्धि फाइनान्सले आह्वान गरेका साधारण सभाका लागि बुकक्लोज गर्दैछ।

दुबै फाइनान्सले पुस २९ गते मंगलबार साधारण सभा डाकेका छन्। सो एक दिनमा मात्रै २५ कम्पनीले साधारण सभा सम्पन्न गर्दैछन्।

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले पुस २९ गते गुहेश्वरी भवन, हरिहर भवनमा बिहान ११ बजे संस्थाको १८ औँ वार्षिक साधारण सभा बोलाएको छ।
सभामा ६.५ प्रतिशत नगद लाभांश वितरण गर्ने, उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्वीजिशनको कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने राखिएका छन्।

फाइनान्सले साधारण सभा प्रयोजनार्थ पुस २२ गते मंगलबारदेखि २९ गतेसम्म बुकक्लोज गर्ने मिति तोकेकाले सभामा सहभागिता जनाउन र लाभांश पुस २१ गतेसम्म कारोबार भई शेयरधनी कायम भैसकेको हुनुपर्छ।

 

यसैगरि उता समृद्धि फाइनान्सले पनि सोही दिन होटल सामना, हेटौँडामा बिहान १० बजे फाइनान्सको १८ औँ वार्षिक साधारण सभा बोलाएको छ। फाइनान्सले पुस २२ गतेदेखि २९ गतेसम्म साधारण सभा प्रयोजनाको लागि शेयर दाखिल खारेज गर्ने भएकाले साधारण सभामा सहभागि हुन पुस २१ गते सोमबारसम्म शेयरधनी कायम हुन आवश्यक देखिन्छ।

सभामा मर्जर।प्राप्तिका लागि सञ्चालक समितिलाई अख्तियारी दिने तथा १२० प्रतिशत हकप्रद निष्काशन गर्ने मुख्य एजेण्डा छ। फाइनान्स समस्याग्रस्त संस्था क्रिष्टल फाइनान्सलाई आफूमा गाभ्ने प्रक्रियामा समेत रहेको छ।