बैंकिङ्ग प्रणालीमा ४६ अर्ब अधिक तरलता, बिहीबार दश अर्ब राष्ट्र बैंकले खिच्ने

0
Shares

बैंकिङ्ग प्रणालीमा ४६ अर्ब भन्दा बढी अधिक तरलता हुँदा अन्तर बैंक ब्याजदर एक प्रतिशतमा झरेपछि राष्ट्र बैंकले बिहीबार दश अर्ब रुपैयाँ बैंकिङ्ग प्रणालीबाट खिच्ने भएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य कर्जाको माग बढ्न नसक्दा बैंकिङ्ग प्रणालीमा ४६ अर्ब बढी अधिक तरलता रहेको हो । नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले हाल बैंकिङ्ग प्रणालीमा ४६ अर्ब रुपैयाँ बराबरको तरलता रहेको जानकारी दिए । जुन बैंकहरुले राष्ट्र बैंकमा अनिवार्य रुपमा राख्नुपर्ने मौज्दात बाहेकको रकम हो ।

बैंकिङ्ग प्रणालीमा अधिक तरलता भएपछि अन्तर बैंक ब्याजदर समेत घटेर एक प्रतिशतमा सीमित भएको छ । अन्तर बैंक ब्याजदर नियन्त्रणमा राख्दै वित्तीय प्रणालीलाई चलायमान बनाउन रिर्भस रिपो जारी गरिएको प्रवक्ता भट्टले बताए ।

बजारमा तरलता बढ्दै गएपछि राष्ट्र बैंकले बिहीबार सात दिने अवधिको दश अर्ब रुपैयाँ बराबरको रिर्भस रिपो मार्फत खिच्न लागेको हो । पुस २४ गते दिउँसो २ बजे अक्सन हुने रिभर्स रिपो माघ २ गते परिपक्व हुनेछ ।

पुस लागेपछि मात्रै राष्ट्र बैंकले तीन पटक रिर्भस रिपो जारी गरिसकेको छ । पहिलो पटक ८ अर्बको रिर्भस रिपो जारी गरेको केन्द्रीय बैंकले त्यसपछि दश/दश अर्बका दरले रिभर्स रिपो जारी गरेको हो ।

वित्तीय क्षेत्रमा तरलता धेरै हुँदा राष्ट्र बैंकले विभिन्न उपकरणहरुको प्रयोग गरेर तरलता प्रशोचन गर्ने गर्दछ भने कमी हुँदा तरलता समेत प्रवाह गर्दै आइरहेको छ।