सामाजिक सुरक्षामा सहभागी श्रमिक संख्या एक लाख ३६ हजार पुग्यो

0
Shares

योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा १२ हजार ११ रोजगारदाता संस्थाबाट एक लाख ३६ हजार श्रमिकहरुले सहभागी जनाएका छन्। २०७५ मंसिर ११ गते औपचारिक रुपमा सुरुवात गरिएको सो कोषमा हालसम्म सो संख्यामा श्रमिकहरु आबद्ध भएका हुन्।

सामाजिक सुरक्षा कोषका अनुसार पुस २५ गते शुक्रबारसम्म सबैभन्दा बढी प्रदेश नं ३ बाट ९८ हजार १९७ श्रमिक योजनामा सहभागी भएका छन्। प्रदेश नं १ बाट २१ हजार ३२१, प्रदेश नं २ बाट सात हजार ८३२, गण्डकी प्रदेशबाट पाँच हजार १४४, प्रदेश नं ५ बाट तीन हजार २९०, सुदूरपश्चिमबाट ४६१ र कर्णाली प्रदेशबाट १६९ श्रमिक कोषमा सूचीकृत छन् ।

यस्तै शुक्रबारसम्म १२ हजार ११ रोजगारदाता कोषमा सूचीकृत भएका छन्। सबैभन्दा बढी प्रदेश नं ३ बाट ८ हजार १९, प्रदेश नं १ बाट एक हजार ८६०, प्रदेश नं ५ बाट ८५९, गण्डकी प्रदेशबाट ५५३, प्रदेश नं २ बाट ४७२, सुदूरपश्चिमबाट १२८ र कर्णाली प्रदेशबाट १२० रोजगारदाता कोषमा सूचीकृत भएका छन् । सूचीकरण प्रक्रियामा ७४ जिल्ला समेटिएका छन् । कोषमा रु ४१ करोड ९४ लाख १६ हजार योगदान रकम सङ्कलन भएको छ।

योजनाबाट तीन योगदानकर्ताका परिवारले सुविधा प्राप्त गर्न थालेका छन्। कोषले औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा गरी चार प्रकारका सुरक्षा योजना सञ्चालनमा ल्याएको छ।

यद्यपी सरकारले निजी संगठित स.स्थाहरुलाई अनिवार्य कोषमा सूचीकृत हुन आह्वान गरेपनि कोषको योजनाहरु अन्य (नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोष) कोषहरुले दिएको भन्दा कम सुविधा भएको भन्दै कोषमा धेरै निजी संस्थाहरुले सहभागिता जनाउन इन्कार गरिरहेका छन्। उनिहरुले कोषमा रहेको दोहारो कर, ६० वर्ष नपुगि कोषमा सञ्चित रकम झिक्न नपाईने व्यवस्था र कोषले प्रदान गर्ने प्रतिफल बढाउनुपर्ने भन्दै सरकारको ध्यानकर्षण रगरिरहेका छन्।