शेयर बजारमा साढे ४२ अंकको उछाल, बजार पूँजीकरण १६ खर्ब माथि

0
Shares

शेयर बजार परिसूचक नेप्सेमा आइतबार एकाएक साढे ३ प्रतिशत अर्थात ४२.६१ को उच्च अंकको सुधार देखिएर एक अर्ब ३३ करोड ५७ लाख ४७ हजार रुपैयाँ बराबरको शेयर खरीद बिक्री भएको छ।

कारोबारमा आएको सबै कम्पनीको शेयरमूल्य बढ्दा लगानीकर्ताको सम्पत्तिको आकार समग्र शेयर बजार पूँजीकरण १६ खर्बमा उक्लिएको छ। आइतबार एकैदिन लगानीकर्ताको सम्पत्तिको आकार ५४ अर्ब ३२ करोड रुपैयाँले बढेको छ।

गत बिहीबार बजार पूँजीकरण १५ खर्ब ४६ अर्ब ५८ करोड रहेको थियो। गत एक सातामा यस्तो पूँजीकरण ५९ अर्ब ७५ करोडले बढेको थियो।

आइतबार कायम भएको शेयर बजारको बिन्दु विगत पाँच महिना अघि अर्थात गत साउन १९ गते रहेको बिन्दु नजिक हो। सो दिन नेप्से १ हजार २५९ दशमलव ६४ बिन्दुमा रहेको थियो। कारोबार रकमका आधारमा पनि आइतबारको कारोबार पनि ७ महिना पछिको ठूलो कारोबार हो। यसअघि जेठ १७ गते एक अर्ब ५२ करोड ८१ लाख तथा सो भन्दा अगाड जेठ १ गते एक अर्ब ३३ करोड ३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।

शेयर बजारप्रति अर्थमन्त्रीको सकारात्मक अन्तरवार्ता, रिक्त रहेको पूँजी बजारको नियामक धितोपत्र बोर्डमा नेर्तत्व चयन, बैंक तथा वित्तीय संस्थामा तरलता बढेसँगैसहज रुपमा शेयर कर्जा प्राप्त हुनु तथा ब्याजदर घट्ने आशा, चालु आवको दोस्रो त्रैमास समास्ती मिति नकिँदा सूचीकृत कम्पनीहरुले गरेको मुनाफाको आंकलन, र लामो समयदेखि वियरिस प्रवृत्तिमा रहेको बजारले उच्च गति लिएको हो।

कारोबारमा आएका १२ वटै उपसमूहका सूचकमा हरियाली छाएको छ। निर्जीवन बीमा उपसमूहको सूचक ८.१७ प्रतिशतले बढ्दा जीवन बीमा ६.८६ तथा लघुवित्तको सूचक ६.५५ प्रतिशतले बढेको छ।

यस्तै होटल ३.९९, जलविद्युत्त ३.२५, अन्य २.७३, विकास बैंक २.६३, बैंकिङ्ग २.५२, म्युचुअल फण्ड २.५०, वित्त २.३८ प्रतिशतले उकालो लागेको छ। व्यापार १.७२ तथा उत्पादनमूलक सूचक १.४४ प्रतिशतले बढेको छ।

 

यसदिन लाभांश घोषणा गर्न बाँकी रहेका निर्जीबन बीमा कम्पनी र लघुवित्त कम्पनीको शेयरमूल्य अधिक बढेका छन्। शेयर बजार घटेसँगै अण्डरभ्यालु भएको अवस्था र लाभांश घोषणा गर्न बाँकी रहेका कम्पनीको शेयर लगानीकर्ताको प्रमुख केन्द्र बनेको छ। जसले यस्ता कम्पनीको शेयरमूल्यमा आइतबार उच्च उछाल आएको छ।

आइतबारको बजारमा नेपाल लाईफको सर्वाधिक कारोबार भएको छ। यस क्रमपनीको ५ करोड ८८ लाख १९ हजार रुपैयाँ बराबरको कारोबार भएको हो। यस्तै ग्रामीण विकास लघुवित्त ४ करोड ६३ लाख ५६ हजार र एनआईसी एशिया बैंकको ४ करोड ७ लाख ८१ हजारको शेयर खरीद बिक्री भएको छ।

शिवम् सिमेन्टस्, डिप्रोक्स लघुवित्त, फस्ट माइक्रोफाइनान्स, नेपाल बैंक, प्रभु बैंक, नेको इन्सोरेन्स र वोमी माइक्रोफाइनान्स शिर्ष कारोबार हुने दश कम्पनीमा समेटिएका छन्।