बनेपाको मिर्मिरेले धादिङको स्वेडा प्राप्ति गरी राष्ट्रियस्तरको लघुवित्त बन्ने

0
Shares

बनेपाको मिर्मिरे लघुवित्त वित्तीय संस्थाले धादिङको स्वेडा लघुवित्तलाई एक्वायर गर्ने भएको छ । प्राप्ति सम्बन्धी सम्झौतामा आइतबार दुई संस्थाबीच सम्झौता भएको छ ।

मिर्मिरेले स्वेडालाई प्रतिकित्ता ७५ रुपैयाँमा खरिद गर्ने प्रारम्भिक सहमति भएको छ । प्राप्ति पश्चात यी दुई कम्पनीकोे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार हुनेछ भने संस्थाको केन्द्रीय कार्यालय बनेपामा रहने सहमति भएको छ ।

यी दुबै कम्पनीले आगामी चैत मसान्तभित्र प्राप्ति सम्बन्धी कार्य पूरा गर्ने लक्ष्य लिएको छ। हाल मिर्मिरेको कार्यक्षेत्र २५ जिल्ला रहेको छ भने स्वेडाले १० जिल्लामा सेवा दिइरहेको छ। एक्वायर सम्पन्न भएपश्चात मिर्मिरे लघुवित्त राष्ट्रियस्तरको लघुवित्तमा स्तोरोउन्नती हुनेछ । प्राप्ति कार्य सम्पन्न भएपछि एक बराबर एकको अनुपातमा हकप्रद निष्काशन गर्ने सहमति समेत दुई संस्थाबीच भएको छ ।

मिर्मिरे लघुवित्तले पुस २८ गते सोमबार सम्पन्न साधारण सभाले गत आर्थिक बर्षको ४६.३६ प्रतिशत लाभांश पारित गरेको छ। लघुवित्तले ४५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ २.३६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभामा लगेको थियो ।

हाल मिर्मिरे लघुवित्तको चुक्ता पूँजी १२ करोड ८७ लाख ८६ हजार ४०० रुपैयाँ रहेको छ। बोनस पश्चात लघुवित्तको चुक्ता पूँजी १८ करोड ६७ लाख ४० हजार २८० रुपैयाँ पुग्नेछ। स्वेडाको चुक्ता पूँजी १ करोड ३८ लाख रुपैयाँ छ।

मिर्मिरे, किसान र नागबेली लघुवित्तको मर्जर भाँडिएपछि मिर्मिरेले स्वेडलाई खरिद गर्ने सम्झौता गरेको हो । गत बैशाख ३० गते मिर्मिरे, किसान र नागबेली लघुवित्तले एक आपसमा मर्जर गर्ने सम्झौता गरेका थिए। स्वाप रेशियोकमा कुरा नमिलेपछि तीन कम्पनीबीचको मर्जर प्रक्रिया भाँडिएको थियो ।