लगातार तेस्रो दिन अर्ब बढीको कारोबार, ६१ अंकको वृद्धिपछि नेप्सेमा ‘करेक्सन’

0
Shares

धरै लामो समयपछि शेयर बजारमा दैनिक अर्ब बढीको कारोबार हुन थालेको छ। बजारले सुधारको गति लिन थालेपछि शेयर किनबेचको क्रम बढ्दा लगातार तेस्रो दिनसम्म अर्ब बढीको शेयर किनबेच भएको हो।

गत आइतबार नेप्सेमा एक अर्ब ३३ करोड बढीको शेयर कारोबार भएको थियो भने सोमबार एक अर्ब ७० करोड बढीको किनबेच भएको थियो। मंगलबार पनि एक अर्ब २ करोड बढीको शेयर किनबेच भएको छ।

कारोबार रकमले साथ दिएपनि मंगलबारको बजारमा करेक्सन भएको छ। गत बिहीबार बाट लगातार बढेको नेप्से सोमबारसम्म ६१ अंक बढीले उकालो लागेर १२७० अंक माथि पुगेको थियो मंगलबार भने ७.४८ अंकले घटेर १२६३.३८ अंकमा झरेको छ। छोटो अवधिमा उच्चदरले बजार बढ्दा नाफा सुरक्षित गर्नेहरुको होड चल्दा बजारमा करेक्सन आएको हो।

शेयर बजार निरन्तर बढेका कारण मंगलबार करेक्सन भएको ब्रोकरहरुको भनाई छ। पुस मसान्तको प्रभाव तथा नाफा बुकिङ्गको प्रतिस्पर्धाले बजार घटेको उनीहरुको भनाई छ।

यसदिन वाणिज्य बैंक, बीमा, जलविद्युत, उत्पादन समूह लगायत ७ समूहका सूचक घटेका छन् भने व्यापार, अन्य, वित्त लगायतका ५ समूहका सूचक सकारात्मक रहे। वाणिज्य बैंकहरुको सूचक १०.३६ अंकले झरेको छ भने जीवन बीमाको ५१.६६ र निर्जीबन बीमाको ४८.८ अंकले घटेको छ।

सबैभन्दा बढि प्रभु बैंकको संस्थापक शेयर किनबेच भएको छ। बैंकको १२७ रुपैयाँ कित्ताका दरमा ११ करोड ४३ लाख रुपैयाँको शेयर किनबेच भएको छ। यसपछि नागरिक लगानी कोषकको २२०५ रुपैयाँका दरमा ७ करोड २२ लाख ३९ हजार रुपैयाँको शेयर कारोबार भयो।

समग्र बजारमा करेक्सन आएपनि साल्ट ट्रेडिङ कर्पोरेशन र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ। मञ्जुश्री फाइनान्सको पनि ९ प्रतिशतले बढेको छ। यस्तै, दिब्यश्वरी हाइड्रोपावर, बरुण हाइड्रोपावर लगायत कम्पनीको शेयर मूल्य धेरै घटेको छ ।