राष्ट्र बैंकका निलम्बित डेपुटी गभर्नर श्रेष्ठलाई सफाई

0
Shares

राष्ट्र बैंकका निलम्बित डेपुटी गभर्नर शिवराज श्रेष्ठले सफाई पाएका छन् ।

मन्त्री परिषद्ले यो साता गरेका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई सफाई दिएको बताएका हुन्।  श्रेष्ठले छानबिन समितिमा बुझाएको स्पष्टीकरण चित्त बुझ्दो भएको र उनीमाथि लगाइएका आरोप गलत भएको भन्दै सरकारले श्रेष्ठलाई सफाई दिने निर्णय गरेको मन्त्री बास्कोटाले बताए।

उनले भने,‘श्रेष्ठमाथि छानबिन भएको थियो, तर कैफियत फेला नपरेपछि सफाई दिने निर्णय भएको छ ।’ कैफियत नभेटेपछि सफाई दिएको हो’

श्रेष्ठलाई दोषी ठहर गर्दै सरकारी निर्देशनमा गठित छानबिन समितिले बुझाएको प्रतिवेदन नै कमजोर भएको स्रोतको दाबी छ । छानबिन समितिले सरकारलाई बुझाएको प्रतिवेदन भन्दा श्रेष्ठले बुझाएको स्पष्टिकरण प्रतिवेदन बलियो भएपछि सरकारले सफाई दिएको हो ।

सरकारले श्रेष्ठलाई सफाई दिने निर्णय गरेपनि सफाई तथा पुर्नबहालीको पत्र भने दिएको छैन । केहि दिनमा उनलाई सफाईको पत्रसँगै पुर्नबहाली गरिने स्रोतले जानकारी दियो ।

सरकारी निर्देशनमा गठित छानबिन समितिले दोषी किटान गर्दै कारवाही सिफारिस गरेपछि सरकारले दुई साताअघि श्रेष्ठसँग प्रष्टीकरण सोधेको थियो।

सरकारको निर्देशनमा करिव दुई महिनाअघि राष्ट्र बैंकले श्रेष्ठमाथि समिति बनाएर छानबिन गर्न लगाएको थियो। सञ्चालक समितिका सदस्य श्रीराम पौडेलको संयोजकत्वमा रामजी रेग्मी र सुवोध कर्ण सदस्य रहेको समितिले प्रतिवेदन तयार पारेको थियो।

श्रेष्ठ माथि वित्तीय स्थायित्वमा आँच पुग्ने काम गरेको भन्ने आरोप लागेको थियो । बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा लुकाउन सघाएको, सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी सूचना संकलन गर्न राष्ट्रसंघको सहयोगमा पाँच वर्षअघि लिइएको सफ्टवेयर प्रणाली लागू गर्न असहयोग गरेको तथा लाभांश लैजाने प्रक्रिया र सर्वोच्चमा परेको मुद्दामा एनसेललाई सघाएको र रकम फुकुवा गर्ने सर्वोच्चको फैसला आइनपुग्दै व्यापारी अजेयराज सुमार्गीलाई साथ दिएको लगायत आरोप श्रेष्ठलाई लगाइएको थियो ।