निर्यात २७ प्रतिशतले वृद्धि, आयात ४.२ प्रतिशतले घट्यो

0
Shares

आर्थिक वर्ष २०७६/७७ को पहिलो पाँच महिना अर्थात मंसिरसम्ममा कुल वस्तु निर्यात २७ प्रतिशतले वृद्धि भई ४७ अर्ब ६२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १२.७२ प्रतिशतले वृद्धि भएको थियो ।

यस अवधिमा भारततर्फ ४८.६ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यात ६.२ प्रतिशत र अन्य मुलुकतर्फ ३.२ प्रतिशतले कमी आएको छ ।

वस्तुगत आधारमा पाम तेल, अलैंची, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य), आयुर्वे्दिक औषधि लगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, तार, तयारी पोशाक, जुस, तामाको तार तथा रड वस्तुहरुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०७६/७७ को पाँच महिनामा कुल वस्तु आयात ४.२ प्रतिशतले घटेर ५८१ अर्ब २६ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३४.२ प्रतिशतले बढेको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ९.५ प्रतिशत र २ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात १५.६ प्रतिशतले बढेको छ ।

वस्तुगत आधारमा कच्चा पाम तेल, हटरोल सिट, रासायनिक मल, अन्य घ मेसिनरी तथा पाटपुर्जा, विद्युतीय सामान लगायतका वस्तुको आयात बढेको छ भने एम.एस. बिलेट, पेट्रोलियम पदार्थ, सुन, यातायातका साधन तथा पार्टपुर्जा, सिमेन्ट लगायतका वस्तुहरुको आयात घटेको छ ।

भन्सार नाकाका आधारमा निर्याततर्फ वीरगंज, विराटनगर, मेची, तातोपानी र कन्चनपुर बाहेकका नाकाहरुबाट गरिएको निर्यातमा ह्रास आएको छ । आयाततर्फ सुख्खा बन्दरगाह, मेची, तातोपानी, कन्चनपुर र रसुवा बाहेकका भन्सार नाकाहरुबाट भएको आयातमा ह्रास आएको राष्ट्र बैंकले जनाएको छ ।

आर्थिक वर्ष २०७६/७७ को पाँच महिनासम्ममा कुल वस्तु व्यापार घाटा ६.३ प्रतिशतले घटी ५३३ अर्ब ६४ करोड रहेको छ । गत वर्षको सोही अवधिमा व्यापार घाटा ३६ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा निर्यात– आयात अनुपात ८.२ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ६.२ प्रतिशत रहेको थियो ।