काठमाडौँ उपत्यकामा चरम महङ्गी, तरकारीको मूल्यवृद्धि उच्च

0
Shares

काठमाडौँ उपत्यकामा चरम मूल्यवृद्धि भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा उपत्यकामा उपभोक्ता मुद्रास्फीतिमा २०७५ को तुलनामा मूल्यवृद्धिको मात्रा बढी देखिएको हो ।

बैंकका अनुसार चालू आर्थिक वर्षको पाँच महिनाको तथ्याङ्कमा काठमाडौँ उपत्यकामा ७.६० प्रतिशतको हाराहारीमा मूल्यवृद्धि भएको छ । विसं २०७५ मङ्सिरमा काठमाडौँ उपत्यकाको उपभोक्ता मुद्रास्फीति मात्रै ३.६८ प्रतिशत रहेको थियो ।

यस्तै तराईमा ६.६६ प्रतिशत, पहाडमा ५.२७ प्रतिशत र हिमालमा ४.८३ प्रतिशत मुद्रास्फीति रहेको छ । आव २०७५/७६ को मङ्सिरमा तराईमा ३.६५ प्रतिशत पहाडमा ३.८४ प्रतिशत र हिमालमा ४.०५ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

बैंकका अनुसार गत मङ्सिरमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.५५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.७१ प्रतिशत रहेको थियो । गत मङ्सिरमा महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ९.७६ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.१० प्रतिशत रहेको छ ।

खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत तरकारी, मसला, फलफूल र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि उच्च रहेको छ । गैरखाद्य तथा सेवा समूहअन्तर्गत शिक्षा, लुगा तथा जुत्ता र फर्निसिङ तथा घरायसी उपकरण उपसमूहको मूल्य बढेको बैंकले जनाएको छ ।

थोक मुद्रास्फीतितर्फ गत मङ्सिरमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ८.९८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.१८ प्रतिशत रहेको थियो । सो अवधिमा प्राथमिक वस्तु समूहअन्तर्गत खाद्य वस्तु तथा उत्पादित वस्तु समूहअन्तर्गत खाद्य, पेय तथा सूर्तीजन्य पदार्थ एवं छाला तथा छालाजन्य पदार्थको थोक मूल्यवृद्धि उच्च रहेको छ ।