‘करेक्सन’ कै बाटोमा नेप्से : साताभर ६७ अंक झर्यो, कारोबारमा पनि सुस्तता

0
Shares

निकै लामो समयपछि शेयर बजारमा देखिएको शेयर बजारको उत्साह विस्तारै हराउन थालेको छ । गत साताको आइतबार १३४३ बिन्दुमा पुगको नेप्से ६७ अंकले झरेर १२७६ अंकमा झरेको छ ।

छोटो समयमासाढे दुई सय अंक बढेको बजारमा नाफा सुरक्षित गर्ने होडले कारोबारमा पनि बढोत्तरी आएको थियो । गएको साता लगातार पाँच दिन अर्ब बढीको कारोबार भएको नेप्सेमा साताभर साढे आठ अर्ब बढीको शेयर किनबेच भएको थियो । तर यो साताको पहिलो दिनमै २० अंक बढीले शेयर बजार घटेको छ भने कारोबार रकम समेत एक अर्ब नाघ्न सकेन । 

पछिल्ला दिनहरुमा वित्तीय प्रणालीमा देखा परेको तरलताको अभावको असर शेयरबजारमा पुगेको आँकलन गर्न थालिएको छ ।

तरलता अभावका कारण अहिले बैंकहरुबीचको अन्तर बैंक ब्याज बढेको छ । गएको साता २० अर्बको रिपो जारी गरेर राष्ट्र बैंकले तरलता अभावको व्यवस्थापन गरेपनि अझै तरलता सहज हुन सकेको छैन् ।

कतिपयले यसलाई बजार करेक्सनकै रुपमा लिएका छन् । अझै बजारमा केहि करेक्सनपछि मात्र बजार बढ्ने विश्लेषणहरु हुन थालेका छन् ।

आइतबार नेप्से सूचक २०.७९ अंकले घटेर १२७६.६८ अंकमा झरेकोे छ। यसदिन १७४ कम्पनीको ९६ करोड ५० लाख रुपैयाँभन्दा बढीको कारोबार भयो ।
कारोबार भएका सबै समूहका सूचक घटेका छन् । सबैभन्दा धेरै निर्जीवन बिमा समूहको सूचक १५१.७४ अंकले घटेको छ । वाणिज्य बैंक समूहमा पनि १८.४५ विन्दुको गिरावट आएको छ ।

यसदिन सबैभन्दा धेरै डिप्रोक्स लघुवित्तको ८ करोड २६ लाख रुपैयाँभन्दा बढीको कारोबार भयो । लघुवित्तको गत आर्थिक बर्षको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भएकाले पनि कारोबार बढेको हो ।

आइतबारको बजारमा सबैभन्दा बढी जोशी हाइड्रोपावरको शेयर मूल्य ३.१७ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै जानकी फाइनान्सको शेयरमूल्य ८.५५ प्रतिशतले घटेको छ । यसदिन १३ कम्पनीको शेयर मूल्य बढ्दा १४५ कम्पनीको घटेको छ ।