नाफा सुरक्षित गरेका लगानीकर्ता पुन: बजार फर्किदा नेप्सेमा हरियाली

0
Shares

गएको साता १३४३ बिन्दुसम्म उक्लिएको नेप्से करेक्सनपछि पुन: उकालो लागेको छ । ६७ अंकको करेक्सन पश्चात १२७६ अंकमा झरेको नेप्से सोमबार करिब २४ अंकले उक्लिएर १३ सय बिन्दु माथि पुगेको छ ।

छोटो अवधिमै साढे दुई सय अंक उक्लिएको बजारमा नाफा सुरक्षित गरेका लगानीकर्ता पुनस् बजारमा फर्किन थालेका छन् । बजार करेक्सन पश्चात घटेको मूल्यमा शेयर खरिदको क्रम बढाउँदा शेयर माग बढ्दा सूचक फेरि उकालो लागेको हो ।

सोमबार अर्थ समितिमा नागरिक लगानी कोष ऐन २०४७ लाई सशोधन गर्न बनेको विधेयकमाथिको दफावार छलफलको क्रममा अर्थमन्त्री खतिवडाले नागरिक लगानीकोषलाई शेयर बजारमा लगानी बढाउन सुझाब दिएका थिए । कोषले पूँजी बजार विकासका लागि आवश्यकता अनुसार सहायक कम्पनी वा संस्था स्थापना गरी पूँजी बजार लगानी गर्न सक्ने व्यवस्था हुने भएकाले पनि शेयर लगानीकर्तामा उत्साह जागेको हो ।

त्यस्तै गत साता अर्थमन्त्री, राष्ट्र बैंक र बैकर्स संघको छलफलमा भएका सहमतिहरु कार्यान्वयनको चरणमा लग्न बैकर्स संघले राष्ट्र बैंकलाई बुँदागत पत्राचार गरिसकेको छ । बैकर्स संघले वित्तीय प्रणालीमा देखा परेका समस्या समाधानका लागि गरेको माग सम्बोधन हुने संकेतले पनि शेयर बजारमा सकारात्मक प्रभाव पारेको देखिन्छ।

सोमबार नप्से सूचक २३.९५ अंकले बढेर १३००.६२ विन्दुमा आईपुगेको छ । १८० कम्पनीको कारोबार भएको बजारमा २४ लाख ९ हजार २६२ कित्ता शेयर ९१ करोड ७३ लाख रुपैयाँ बराबरमा किनबेच भएका छन् ।

कारोबारमा आएका सबै समूहका सूचक सकारात्मक रहेको बजारमा व्यापार, होटल, जीवन बिमा समूह, लघुवित्त समूह लगायतको उच्च वृद्धि देखिएको छ ।

अधिकांश लघुवित्तको शेयर मूल्य बढेको बजारमा १ सय ८० वटा कम्पनीको शेयर कारोबार हुँदा १ सय ३४ वटाको मूल्यमा सुधार आएको छ भने १२ वटाको मूल्य घटेको छ।

यसदिन नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी ८ करोड १४ लाख रुपैयाँ धेरैको शेयर कारोबार भयो । समिट लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै ७.७९ प्रतिशतले बढेको बजारमा जोशी हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै ३.०७ प्रतिशतले घटेको छ ।