स्प्रेडदरमा कडाई र लागत बढ्दा नेपाल बैंकको खुद नाफा घट्यो, नाफा १ अर्ब ३५ करोड मात्र

0
Shares

नेपाल बैंक (NBL) को खुद नाफा चालु आर्थिक वर्ष २०७६/७७ को दोश्रो त्रैमासमा अघिल्लो आवको तुलनामा १८.६० प्रतिशतले घटेको छ। कोषको लागतमा भएको बढोत्तरीले बढेको ब्याज खर्च र व्यवसाय विस्तारमा देखिएको झिनो मात्र सुधारले बैंकको खुद नाफा घटेको हो। यसअघि स्प्रेडदर बढाएर पनि सरकारी बैंकहरुले बढी मुनाफा आर्जन गर्दै आएकोमा नेपाल राष्ट्र बैंकको कडाइले पनि मुनाफा घटेको हो।

मंगलबार सार्वजनिक एनएफआरएस वित्तीय विवरण अनुसार बैंकले १ अर्ब ३५ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको उल्लेख छ। जबकी गत आवको यसै अवधिमा बैंकले १ अर्ब ६६ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो नाफा पनि नियमित बाहेक २१ करोड गैह्र सञ्चालन आम्दानीले पुगेको हो। 

पुस मसान्तसम्म बैंकको वितरण योग्य नाफा ६८ करोड ३७ लाख रहेको छ। ९ अर्ब ८१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको ६ महिनामा कमाएको नाफाको आधारमा १३.९३ प्रतिशत लाभांश क्षमता कायम हुन आएको छ।

एनएफआरएस रिर्पोट अनुसार रेगुलेटरी एड्जस्टमेन्ट पश्चात कायम हुने फ्रि प्रोफिट केन्द्रीय बैंकले तोकेको प्रावधान अनुसार तोकिएको शिर्षकहरुमा व्यवस्था गरेपश्चात बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ।

बैंकको वार्षिक प्रतिशेयर आम्दानी २७.५७ रुपैयाँ, प्रतिशेयर नेटवर्थ २९७.५५ रुपैयाँ र बैंकको मुल्य आम्दानी अनुपात १०.०५ गुणा छ। यस्तै बैंकको जगेडा कोषमा १३ अर्ब ५२ करोड, सञ्चित नाफा २ अर्ब ५९ करोड, शेयर प्रिमियम ३ अर्ब २६ करोड रुपैयाँ रहेको छ।

बहुमत सरकारी स्वामित्व भएको यस बैंकको पुस मसान्तसम्ममा अघिल्लो आवको यसै अवधिको तुलनामा निक्षेप सङ्कलन ७ करोड ७९ लाख, खुद ब्याज आम्दानी ४२ करोड २१ लाख, सञ्चालन मुनाफा ५७ करोड ७८ लाख रुपैयाँले घटेको छ। कोषको लागत ३.५८ बाट १.६१ प्रतिशत बिन्दुले बढ्दा ब्याज खर्च ६३.२७ प्रतिशतले बढोत्तरी भएको छ। बैंकको शुल्क कमिसन र अन्य सञ्चालन आम्दानी समेत यस अवधिमा घटेको छ।

यद्यपी बैंकको खराब कर्जा अनुपात २.७४ बाट २.६६ प्रतिशतमा घटेको छ, पूँजी कोष अनुपात बढेर १७.४१ प्रतिशत पुगेको छ।यी बैंकका सकारात्मक परिवर्तन हुन्।

पुस मसान्तसम्म बैंकले १ खर्ब १७ अर्ब १२ करोड निक्षेप संकलन गरेर ९८ अर्ब ४५ करोड कर्जा विस्तार गरेको छ। गत आर्थिक वर्षको यसै अवधिमा बैंकले १ खर्ब १७ अर्ब २० करोड निक्षेप संकलन गरेर ९२ अर्ब ४२ करोड कर्जा विस्तार गरेको थियो।

पुस मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ७४ करोड रहेको छ। जुन गत आवको यसै अवधिको तुलनामा ४२ करोड कम हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ३ अर्ब १६ करोड खुद ब्याज आम्दानी गरेको थियो। यस्तै बैंकको सञ्चालन मुनाफा पनि २ अर्ब ३१ करोडबाट घटेर १ अर्ब ७३ करोड रुपैयाँमा झरेको छ ।

पुस मसान्तको वित्तीय विवरण अनुसार बैंकको निष्कृय कर्जा अनुपात २.६६ प्रतिशत, कोषको लागत ५.१९ प्रतिशत, कर्जा निक्षेप अनुपात ७४.९३ प्रतिशत छ।