तरलता संकट मोचन गर्न राष्ट्र बैंकले आज १० अर्ब वित्त बजारमा पठाउँदै

0
Shares

नेपाल राष्ट्र बैंकले वित्त बजारमा गहिरिएको तरलता संकट हटाउन बिहीबार वित्तीय प्रणालीमा १० अर्ब रुपैयाँ पठाउने भएको छ । राष्ट्र बैंकले रिपो मार्फत बजारमा उक्त रकम प्रवाह गर्न लागेको हो ।

राष्ट्र बैंकले ७ दिने अवधिको दश अर्ब बराबरको रिपो जारी गर्ने भएको छ । रिपोको ब्याजदर न्यूनतम ४.५ प्रतिशत तोकिएको छ । तरलता अभाव गहिरिएपछि अन्तर बैंक ब्याजदर समेत साढे चार प्रतिशत नाघेको छ । अन्तर बैंक ब्याजदर नियन्त्रणमा राख्न पनि रिपो जारी गरिएको हो ।

रिपो बिहीबार अपरान्ह ३ बजे बोलकबोल गरेर जारी हुने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउनेछन्।

केन्द्रीय बैंकले ब्याजदर करिडोर उपकरणमार्फत बजारमा तरलता व्यवस्थापन गरिरहेको छ । बैंकिङ प्रणालीमा लगानी योग्य रकम अभाव भएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको तरलता प्रवाह गर्न रिपो जारी गर्ने गर्दछ ।

राष्ट्र बैंकका अनुसार माघ १५ गते बुधबारसम्म बैकिंङ प्रणालीमा अनिवार्य नगद अनुपात (सिआरआर) बाहेक १४ अर्ब ६३ करोड मात्र तरलता रहेको प्रवक्ता डा. गुणाकर भट्टले नोटबजारलाई जानकारी दिए ।

पुस मसान्तमा कर तिर्नका लागि बैंकिङ प्रणालीबाट ४१ अर्ब रुपैयाँ सरकारी खातामा पुगेपछि तरलता अभाव सुरु भएको थियो । तरलता अभाव देखिएपछि राष्ट्र बैंकले गत माघ ७ गते एक साताका लागि २० अर्बको रिपो जारी गरेको थियो । उक्त रिपो माघ १४ गते परिपक्क भएपछि पुनस् तरलता अभाव देखिएको थियो। राष्ट्र बैंकले गत साता २० अर्बको रीपो जारी गर्दा १० बैंकले ५४ आवेदन मार्फत २० अर्ब ९५ करोड माग गरेका थिए ।

राष्ट्र बैंकले चालु आर्थिक बर्षको साढे ६ महिनामा चार पटक रिपो जारी गरिसकेको छ । पहिलो पटक पुस २ गते २० अर्बको रिपो जारी गरेको राष्ट्र बैंकले पुस १६ गते १५ अर्ब, पुस २९ गते २० अर्ब र गत माघ ७ गते २० अर्बको रिपो जारी गरेको थियो ।