बीमा कम्पनीको ‘डिमाण्ड’ बढ्दा, यी हुन् लगानीकर्ताको रोजाईका कम्पनी

0
Shares

शेयर बजारमा लगानीकर्ताले फोर्टफोलियो बदल्ने क्रममा बीमा कम्पनीकोहरुको शेयरको माग बढेको छ।

जसले गर्दा यो साताको अन्तिम दिनको शेयर कारोबारमा उच्च शेयर मूल्य बढ्ने तथा कारोबार हुने कम्पनीको सूचीमा बीमा कम्पनीहरुको बाहुल्यता देखियो ।

साढे १९ अंकले नेप्से सूचक बढ्दा बिहीबारको शेयर बजारमा १७८ कम्पनीको झण्डै दुई अर्ब बराबरको शेयर किनबेच भएको छ । पछिल्लो समय शेयर बजारमा सुधार आउने क्रम बढेसँगै कारोबार रकम पनि बढिरहेको छ।

गत आर्थिक बर्षको लाभांश घोषणा गर्नेक्रम सुरु हुन लागेकाले पनि लगानीकर्ताको ध्यान बीमातर्फ मोडिएको हो। केहि निर्जीवन बीमा कम्पनीहरुले लाभांश घोषणा गरिसकेका छन्। अब विस्तारै अन्य कम्पनीहरुले लाभांश घोषणा गर्दै जाने आँकलन लगानीकर्ताको छ। अधिकांस बैंकहरुले वितरण गरेको नगद लाभांश लगानीकर्ताले प्राप्त गरिसकेका छन् । उक्त लाभांशको धेरैजसो रकम समेत शेयर बजारमै लगानी भएको ब्रोकरहरु बताउँछन्।

लगानीकर्ताको रोजाईमा बीमा कम्पनीहरु पर्दा अधिकांस बीमा कम्पनीहरुको शेयर मूल्य बढेर किनबेच भएको छ। यसदिन निर्जीवन बीमा समुहको सूचक सबैभन्दा धेरै ३.९६ अंकले उकालो लागेको छ भने जीवन बीमाको सूचक पनि २.२८ प्रतिशतले उकालो लागेको छ।

सबैभन्दा धेरै कारोबार हुने १० कम्पनीको सूचीमा ९ वटा बीमा कम्पनी परेका छन् । सबैभन्दा बढी सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको ११ करोड ३६ लाख रुपैयाँको कारोबार भएको छ। यस्तै प्राइमको ७ करोड २० लाख, नेपाल लाइफको ६ करोड ९३ लाखको शेयर किनबेच भएको छ। उच्च कारोबार हुने दश कम्पनीको सूचीमा बीमा बाहेकको प्रभु बैंक छैंठौ स्थानमा परेको छ। जसको ५ करोड ६६ लाख बराबरको कारोबार भयो।

धेरै कमाउने १० कम्पनीमा ७ वटा बीमा कम्पनीका छन्। एभरेष्ट इन्स्योरेन्सका शेयर बढेर सर्किट लागेको छ। सूर्यालाईफ इन्स्योरेन्सको करिब दश प्रतिशत, हिमालयन जनरल इन्स्योरेन्स, युनाईटेड इन्स्योरेन्स, गुँरास लाइफ इन्स्योरेन्स, एशियन लाइफ इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स लगायतको शेयर मूल्य बढेको छ।

बिहीबारको शेयर बजारमा सबैभन्दा धेरै हिमालयन उर्जा विकास कम्पनीको पाँच प्रतिशत बढीले ओरालो लागेको छ। नाडेप लघुवित्त, गोर्खाज फाइनान्स लगायतको शेयर मूल्य धेरै घटेको छ।