प्यान लिनेको संख्या ३१ लाख नाघ्यो, व्यक्तिगत संख्या ८१ प्रतिशतले वृद्धि

0
Shares

चालु आर्थिक बर्षको पहिलो ६ महिनामा व्यक्तीगत स्थायी नम्बर लिने करदाताको संख्या ८ लाख १३ हजार ९ सय ७८ ले बढेको छ । गत असारको तुलनामा व्यक्तिगत रुपमा प्यान नम्बर लिने करदाताको संख्या ८१.८० प्रतिशतले बढेको हो ।

गत असारसम्म व्यक्तीगत स्थायी नम्बर लिने करदाताको संख्या ९ लाख ९३ हजार ८० रहेको थियो । पुस मसान्तसम्म यस्तो संख्या बढेर १८ लाख ५ हजार ४३३ पुगेको छ ।

यस अवधिमा व्यवसायिक रुपमा प्यान लिनेको संख्या एक लाख ५० हजार ८७७ ले थप भएको छ । गत असारको तुलनामा यो संख्या १२.२८ प्रतिशतले बढी हो । गत असारसम्म व्यवसायिक रुपमा प्यान लिनेको संख्या ११ लाख ७८ हजार ३८३ थियो । पुस मसान्तसम्म यस्तो संख्या १३ लाख २३ हजार ९८ पुगेको छ ।

कुनै पनि व्यापार व्यवसाय संचालनका गर्नका लागि आवश्यक पूँजी जुटाउन कर चुक्ताको प्रमाणपत्र बुझाउनुपर्ने अनिवार्य व्यवस्थाले पछिल्लो दिनहरुमा प्यान नम्बर लिनेको संख्यामा वढोत्तरी आएको हो।

चालु आर्थिक बर्षको ७ महिनामा स्थायी लेखा नम्बर लिने करदाताको संख्या ९ लाख ६७ हजार ५४० ले बढेको छ । गत असारको तुलनामा प्यान लिने करदाताको संख्या ४४.१८ प्रतिशतले बढेको अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थ मन्त्रालयका अनुसार २०७६ असारसम्म २१ लाख ७२ हजार २ सयले प्यान लिएकोमा पुस मसान्तसम्म यो संख्या बढेर ३१ लाख ३१ हजार ९५३ पुगेको छ ।
२०७६ पुस सम्म मूल्य अभिवृद्धि कर भ्याटमा दर्ता भएका करदाताको संख्या २ लाख ४६ हजार ६११ पुगेको छ । चालु आर्थिक बर्षको पहिलो ७ महिनामा ३४ हजार १ सय ४२ यस्ता करदाता थपिएका छन् ।

२०७६ पुससम्म अन्त: शुल्कमा दर्ता हने करदाताको संख्या ९५ हजार ३५९ पुगेको छ। चालु आर्थिक बर्षको पहिलो ६ महिनामा १७ हजार ९३५ यस्ता करदाता थपिएको अर्थमन्त्रालयले जनाएको छ ।