सञ्चालन खर्च ४१ प्रतिशतले बढेपछि माछापुच्छ्रे बैंकको नाफा वृद्धिमा असर

0
Shares

माछापुच्छ्रे बैंक (MBL) को नाफा चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ५.१८ प्रतिशतले मात्र वढेको छ । यो अवधिमा बैंकको कर्मचारी तथा सञ्चालन खर्च उच्चदरमा वढेपछि नाफा वृद्धिमा असर गरेको हो ।

बैंकले चालु आवको पुसम्ममा कर्मचारी खर्च ३३.६६ र अन्य सञ्चालन खर्च ४१.६० प्रतिशतले वढेपछि आगामी दिन यो खर्च कम गरी गुणस्तरीय कर्जा प्रवाहगरी ब्याज आम्दानी वढाउने रणनीति अपनाउने उल्लेख गरेको छ ।

चालु आर्थिक वर्षको पुसम्ममा बैंकले ८२ करोड १८ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ७७ करोड ६८ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको ब्याज आम्दानी १७.१० प्रतिशतले वढेर एक अर्ब ९८ करोड ६८ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकले एक अर्ब ६९ करोड ६५ लाख रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको थियो ।

तर, चालु आवको सो अवधिमा बैंकका फि तथा कमिसन आम्दानीमा भने उच्च दरको वृद्धि देखिएको छ । बैंक यस अवधिमा ५२ करोड ६३ लाख रुपैयाँ खुद फि एण्ड कमिसन आम्दानी गरेको छ । यो आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५४.७४ प्रतिशतले वढेको हो । बैंकले गत आवको सोही अवधिमा ३४ करोड एक लाख रुपैयाँ खुद फि एण्ड मसिन आम्दानी गरेको थियो ।

चालु आवको पुसम्ममा बैंकको कर्मचारी खर्च मात्र ३३.६६ प्रतिशतले वढेको छ । यो अवधिमा बैंकले ८१ करोड ८३ लाख रुपैयाँ कर्मचारी खर्च गरेको छ । गत आवको सोही अवधिमा बैंकले ६१ करोड २२ लाख रुपैयाँ कर्मचारी खर्च गरेको थियो ।

त्यसैगरी बैंकको अन्य सञ्चालन खर्च समेत ४१.६० प्रतिशतले वढेको हो । चालु आर्थिक वर्षको पुससम्ममा बैंकको सञ्चालन खर्च ४० करोड ४७ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको अन्य सञ्चालन खर्च २८ करोड ५८ लाख रुपैयाँ थियो ।

बैंकले पुस मसान्तसम्ममा ९७ अर्ब ५२ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । बैंक गत आवको सोही अवधिमा ८५ अर्ब १९ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो ।

यसैगरी बैंकले चालु आजको दोस्रो त्रैमासमा ८७ अर्ब ५४ करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ७५ अर्ब ९ करोड रुपैयाँ कर्जा प्रबाह गरेको थियो ।

बैंकको दोस्रो त्रैमाससम्मको वितरण योग्य नाफा ६० करोड रुपैयाँ गरेको छ । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ४५ करोड रहेको बैंकको सञ्चित कोषमा २ अर्ब रुपैयाँ रहेको छ ।

हाल ०.४५ प्रतिशत खराव कर्जा रहेकोे बैंकको कर्जा निक्षेप अनुपात ७८.७२ प्रतिशत रहेको छ । चालु आवको पुसम्ममा आधार ब्याजदर १०.२६ प्रतिशत रहेको बैंकको कर्जा निक्षेप व्याज अन्तर (स्प्रेडदर) ५.२४ प्रतिशत रहेको छ । मूल्यआ म्दानी अनुपात ११.७८ प्रतिशत रहेको बैंकको प्रति सेयर आम्दानी १९.४३ रुपैयाँ रहेको छ ।