दुई वर्षे मुद्दती बचत राख्न वाणिज्य बैंक खोज्दै पुनर्बीमा कम्पनी

0
Shares

नेपाल पुनर्बीमा कम्पनीले वाणिज्य बैंकहरुमा दुई वर्षका लागि मुद्दती निक्षेप राख्ने भएको छ। कम्पनीले सोमबार एक सूचना जारी गर्दै वाणिज्य बैंकहरु मार्फत शिलबन्दी प्रस्ताव फारम बुझाउन आह्वान गरेको हो।

कम्पनीले विभिन्न १६ बुँदामा बैंकको वित्तीय सूचाङ्कहरु खुलाई शिलबन्दी बोलपत्र पेश गर्न सूचना जारी गरेको हो। यद्यपी कम्पनीले कति रकम मुद्धती लगानी गर्न चाहेको भन्ने उल्लेख गरिएको छैन। मुद्धती निक्षेपमा लगानी गर्ने रकम उल्लेख खुलाउँदा बोलकबोलमा प्राप्त हुने ब्याजदरमा असर पर्ने हुँदा रकम गोप्य राखिएको कम्पनीका अधिकारीले नोटबजारलाई जानकारी दिए।

कम्पनीले नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त इच्छुक ‘क’ वर्गका वाणिज्य बैंकहरुले माघ २६ गते आइतबार कार्यालय समयभित्र गोप्य बुझाउनुपर्ने जनाइएको छ।

शिलबन्दी बोलपत्र पेश गर्दा सम्बन्धित बैंकको पूँजी कोष अनुपात, निष्कृष्य कर्जा, सि।डि रेसियो, तरल सम्पत्ति र स्वदेशी मुद्रा निक्षेप, रियल स्टेट कर्जा, सर्वसाधाणको कूल निक्षेप रुपैयाँमा, चुक्ता पूँजी, पूँजी प्रर्याप्तता अनुपात, प्रतिशेयर किताबी मूल्य, कम्पनीको नाममा रहेको हालसम्मको निक्षेप रकम, प्रति शेयर आम्दानी, पछिल्लो पटक वार्षिक साधारण सभा सम्पन्न मिति, प्रस्तावित ब्याजदर, प्रस्तावित रकम, ब्याजदर भुक्तानी तरिका लगायत खुलाउनुपर्नेछ।

साथै कम्पनीले मुद्दतीमा लगानी गरिएको रकमको समय समाप्त हुनु अगावै निक्षेप रकम फिर्ता वा मुद्दती निक्षेप धरौटी राखी ऋण लिनुपर्ने अवस्थाको शर्त एवं सुविधाहरु समेत अनिवार्य रुपमा खुलाउनका लागि भनेको छ।

यसरी प्रस्ताव गरिएको मुद्दती निक्षेपमा प्रदान गरिने व्याजदरको मान्य अवधि न्यूनतम १५ दिन हुनुपर्ने र वाणिज्य बैंकको न्यूनतम ८ अर्ब वा सो भन्दा बढी पूँजीकोष भएको र प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ हुनुपर्ने उल्लेख गरिएको छ। अन्तिम निर्णय कम्पनी सञ्चालक समितिले गरे अनुसार हुने जनाइएको छ।