उतार चढावपूर्ण बजारमा तीन कम्पनीको शेयरमूल्य सर्किट नजिक, हाइड्रो आकर्षणको केन्द्रमा

0
Shares

सोमबारको शेयर बजारमा दिनभर उतार चढावपूर्ण रहँदा अन्तिममा सकारात्मक भएर बन्द भएको छ। सुरुवातमा सकारात्मक भई ८ अंकसम्म बढेको नेप्से एक घण्टा अवधि नपुग्दै त्यति नै घट्न पुग्यो भने सो पछिका समयमा पनि लामो समय ऋणात्मक भएको बजार सूचक अन्तिम आधा घण्टामा आएर मात्र सकारात्मक भएर बन्द भएको हो।

बजार बुल तर्फ जाने भएपछि यसअघि ज्यादै न्यून मात्र बढेको हाइड्रोपावर कम्पनीका शेयर सोमबार उच्च आकर्षणको केन्द्रमा रह्यो। जसले जलविद्युत उपसमूहका सूचक ४.८२ प्रतिशतले बढेको छ। जलविद्युत्त उपसमूहगत परिसूचकमा आएको बढोत्तरी अनुसार नै सोमबार उच्च शेयरमूल्य बढ्ने १० कम्पनीको सूचीमा ७ वटा कम्पनी जलविद्युत समूहका परेका छन्। नेशनल हाइड्रोपावर, छ्याङ्दी, रसुवागढी, सानिमा माई, चिलिमे, युनिभर्सल पावर र बरुण हाइड्रोपावर शेयरमूल्य बढ्ने दश कम्पनीमा परेका हुन्।

साताको दोस्रो दिन बिहीबार शेयर बजार परिसूचक नेप्से २.४९ अंकको वृद्धि सहित १ अर्ब ६१ करोड १७ लाख रुपैयाँको कारोबार भएको छ। वित्त बजारमा तरलता संकटका बाबजुत भारतीय शेयर बजारमा समेत शिथिलता आउँदा नेपाल र भारत दुबैतर्फ शेयर कारोबार गर्ने मारवाडी समुदायको लगानी नेपाल शेयर बजारमा भित्रदाँ पनि बजारमा कारोबार रकम उच्च भएको आशंका विश्लेषक तथा लगानीकर्ताले गर्न थालेका छन्।

वित्त बजारमा अधिक तरलता रकम खुम्चिँदा पनि हाल नेप्से बढ्दो क्रममा नै रहनुले पनि नेपाली बजारमा शेयर लगानीको क्रम बढेको बुझ्न सकिन्छ। त्यसबाहेक गत आवको मुनाफाबाट वितरण गरेका धेरै कम्पनीको नगद लाभांश शेयरधनीको बैंक खातामा प्राप्त भैसकेकाले पनि बजार माथि जाने आंकलनका बीच लगानीकर्ता सो रकम समेत शेयर बजारमा परिचालन गरेकाले बजारमा कारोबारको भोलुम बढ्दो क्रममा रहेको जानकारहरु बताउँछन्।

सोमबार १७७ कम्पनीका १७ हजार ६३३ पटकको कारोबारमा ४७ हजार ४८ हजार ८२९ कित्ता शेयर खरीद बिक्री भएका छन्। कारोबारमा आएका १२ उप समूहका सूचक मिश्रीत देखिएका छन्। जलविद्युत उपसमूहका सूचक ४.८२ प्रतिशतले बढ्दा विकास बैंक १.६९ प्रतिशत तथा निर्जीबन बीमा, अन्य र म्युचुअल फण्डका सूचक सकारात्मक रह्यो। उता बैंकिङ्ग, ब्यापार, होटल, वित्त उत्पादन, लघुवित्त र जीबन बीमाको इक्डेक्स भने आज रातो भएका छन्।

यसदिन गरिमा विकास बैंक, नेशनल हाइड्रोपावर, र छ्याङ्दी हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशत बढीले बढेको छ । रसुवागढी, सानिमा माई, चिलिमे जलविद्युत्त, मिथिला लघुवित्त, मितेरी डेभलपमेन्ट बैंक, युनिभर्सल पावर र बरुण हाइड्रो शिर्ष शेयरमूल्य बढ्ने दश कम्पनीमा परेका छन्।

उता सोमबारको कारोबारमा मल्टिपर्पस फाइनान्सको शेयरमूल्य सर्वाधिक ५.२३ प्रतिशतले घटेको छ। युनियन हाइड्रोपावर, समृद्धि फाइनान्स, गुडविल फाइनान्स, विजय लघुवित्त, पोखरा फाइनान्स, स्वाभिमान लघुवित्त, राष्ट्रिय बीमा कम्पनी र सिभिल लघुवित्तको शेयरमूल्य २ प्रतिशत बढीले अवमूल्यन भएको छ ।

आज कारोबार हुने शिर्ष १० कम्पनीहरुको सूचीमा ४ वटा बीमा कम्पनीहरु समेटिएका छन्। नेको इन्स्योरेन्सको सबैभन्दा बढी ६ करोड ५६ लाखको शेयर कारोबार हुँदा ग्लोबल आईएमई बैंक ५ करोड १ लाख, नेपाल इन्स्योरेन्स ४ करोड ९९९ लाख, ग्रामीण विकास लघुवित्त ४ करोड ८१ लाख, प्रभु बैंक ४ करोड १९ लाख, गरिमा विकास बैंक ४ करोड ८ लाख, नेपाल लाईफ ३ करोड ८८ लाख, एनआईसी एशिया ३ करोड ५१ लाख, हिमालयन डिष्टलरी ३ करोड ४४ लाख र सूर्या लाईफको ३ करोड ४० लाख रुपैयाँ बराबरको शेयर खरीद बिक्री भएका छन्।