ग्रामीण विकास लघुवित्तको EPS ११.८५ रुपैयाँले घट्यो, खराब कर्जा अझै उच्च

0
Shares


ग्रामीण विकास लघुवित्त वित्तीय संस्था (GBLBSL) को नाफा घटेपछि वार्षिक प्रतिशेयर आम्दानीमा ११.८५ रुपैयाँको गिरावट देखिएको छ ।
गत आर्थिक वर्षको यसै अवधिमा ३४.६३ रुपैयाँ वार्षिक इपिएस रहेको लघुवित्तको २२.७८ रुपैयाँमा झरेको हो। यस अवधिमा लघुवित्तको नाफा पनि ११ करोड ३४ लाखबाट घटेर ११ करोड १८ लाख रुपैयाँमा संकुचित बनेको छ ।

चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद जारी गरेर चुक्ता पूँजी ९८ करोड २५ लाख रुपैयाँ पुर्याएको यस लघुवित्तको नाफा प्रभावित भएसँगै इपिएसमा उच्च गिरावट देखिएको हो।

पुस मसान्तसम्ममा लघुवित्तको खराब कर्जा अनुपात पनि उच्च रहेको छ । यस अवधिमा लघुवित्तको यस्तो अनुपात ०.०५ बिन्दु घटेर ४.४५ प्रतिशतमा छ। बैंक तथा वित्तीय संस्थाहरुमा खराब कर्जा अनुपात १ प्रतिशत वा सोभन्दा कम रहनुलाई राम्रो मान्छि। विगतमा पाँच विकास क्षेत्रमा रहेका संकटग्रस्त लघुवित्त मर्जर भई बनेको संस्था भएका कारण पनि कम्पनीलाई खराब कर्जा घटाउन फलामको च्यूरा चपाउनु सरह बन्दै आएको छ।

पुस मसान्तसम्ममा लघुवित्तको जगेडा कोषको आकार भने ३८ करोड ४१ लाख ५८ हजारबाट वृद्धि भई ६२ करोड ८८ लाख ४२ हजार रुपैयाँ पुगेको छ। यससँगै लघुवित्तको प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ र मूल्य आम्दानी अनुपात १७.८२ गुणा निर्धारण हुन आएको छ।

पुस मसान्तसम्ममा तीन अर्ब ४९ करोड ६३ लाख रुपैयाँ निक्षेप संकलन तथा ४ अर्ब ७० करोड ४१ लाख रुपैयाँ सापटी गरि १० अर्ब ३३ करोड १० लाख रुपैयाँ कर्जा विस्तार गरेको छ। गत आवको तुलनामा निक्षेप १७.४२ प्रतिशत, सापटी १.१३ प्रतिशत र कर्जा लगानी १२.५८ प्रतिशतले बढेको छ।

यस अवधिमा लघुवित्त कम्पनीले ५३ करोड ८१ लाख ४६ हजार रुपैयाँ खुद ब्याज आन्दानी गरेको छ। जुन गत आवको यसै अवधिको तुलनामा ९ करोड २६ लाख रुपैयाँ धेरै हो। लघुवित्तको सञ्चालन नाफा १२ करोड ६८ लाख रुपैयाँ रहेको छ।

यस अवधिमा लघुवित्तको पूँजीकोष अनुपात ११.४६ प्रतिशत, कोषको लागत ९.१८ प्रतिशत, र प्रतिशेयर कूल सम्पत्तिको मूल्य १ हजार ३०२ रुपैयाँ रहेको छ।