नेपाल इन्भेष्टमेन्ट बैंक खस्किदो अवस्थामा, खराब कर्जाको भार बढ्यो

0
Shares

सबैभन्दा बलियो बैंकका रुपमा देखा परेको नेपाल इन्भेष्टमेन्ट बैंक (NIB) को प्रगति पछिल्लो समयमा निरन्तर खस्किदै गएको छ । बैंकको खुद आम्दानी ,संचालन नाफा घट्न थालेको छ भने खराब कर्जाको भार बढ्न थालेको छ । मेलम्ची र तनहुँ हाइड्रोमा फस्दा बैंकको अवस्था बिग्रन थालेको हो।

आर्थिक वर्ष ०७६/०७७ को ६ महिनाको अवधिमा बैंकले १ अर्ब ६६ करोड खुद नाफा गरेको छ। जुन गत बर्षको यसै अवधिको तुलनामा करिब १६ प्रतिशत कम हो । गत आर्थिक वर्षको यसै अवधिसम्ममा बैंकले १ अर्ब ९७ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। पुस मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ८४ करोड ३४ लाख रुपैयाँ रहेको छ।

यसबाट बैंकले ११.८६ प्रतिशत मात्रै लाभांश वितरण गर्ने क्षमता राख्दछ। एनएफआरएस रिर्पोट अनुसार राष्ट्र बैंकले तोकेको विभिन्न शिर्षकहरुको व्यवस्था अन्तर्गत रकम छुट्टाएपश्चात कायम हुन आउने फ्रि प्रोफिटलाई बैंकले आफ्ना शेयरधनीलाई लाभांशको वितरणमा उपयोग गर्न सक्दछ।

बैंकको संचालन नाफा, खुद ब्याज आम्दानी घट्नुका साथै निष्क्रिय कर्जा बढेपछि बैंकको खुद नाफा घटेको हो। खुद नाफामा गिरावट आएसँगै बैंकको प्रतिशेयर आम्दानी १० रुपैयाँ ५६ पैसाले घटेर २३ रुपैयाँ ४३ पैसा कायम भएको छ।

बैंकको निक्षेप १ खर्ब ४९ अर्ब ९५ करोड पुगेको छ। यसअवधिमा १ खर्ब ३२ अर्ब ६० करोड कर्जा परिचालन गरेको छ। जसबाट बैंकले ३ अर्ब ६ करोड खुद ब्याज आम्दानी गरेको छ। बैंकको निक्षेप ०.३८ प्रतिशतले मात्र बढेको छ भने कर्जा करिब ८ प्रतिशतले बढेको छ। खुद ब्याज आम्दानी साढे ७ प्रतिशतले घटेको हो।

बैंकको खुद ब्याज आम्दानी तथा संचालन नाफा गतबर्षको भन्दा कम हो । बैंकको निष्क्रिय कर्जा २.०४ प्रतिशतबाट बढेर २.९० प्रतिशत पुगेको छ। बैंकको प्रतिशेयर नेटवर्थ घटेर १८४ रुपैयाँ ३ पैसा कायम भएको छ। त्यसैगरी, बैंकको मूल्य आम्दानी अनुपात बढेर १७.२८ गुणा पुगेकोे छ।

१४ अर्ब २२ करोड चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १० अर्ब १० करोड, शेयरधनी कोषमा १ अर्ब ८१ करोड र शेयर प्रिमियममा ३ करोड २५ लाख रुपैयाँ रहेको छ।

बैंकको आधारदर ८.५३ प्रतिशत, लागत ६.३५ प्रतिशत तथा कर्जा निक्षेप अनुपात ७५.३९ प्रतिशत छ।