युनाइटेड इन्स्योरेन्स (UIC) को वार्षिक प्रतिशेयर आम्दानी ह्वात्तै घटेको छ । बीमा समितिले तोकेको न्यूनतम चुक्ता पूँजी कायम गर्न २४० प्रतिशत हकप्रद जारी गरेर पूँजी वृद्धि गरेका कारण कम्पनीको इपिएसमा उच्च गिरावट देखिएको हो।
कम्पनीले चालु आवको ६ महिना अवधिमा २ करोड २ लाख ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यसअनुसार कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ३.९४ रुपैयाँ कायम हुन आउँछ। गत आवको यसै अवधिमा १ करोड ७४ लाख नाफा कमाएको कम्पनीले सो अवधिमा वार्षिक ११.५१ रुपैयाँ इपिएस कायम गरेको थियो।
३० करोड २४ लाखको पूँजीलाई एक अर्ब २ करोड ८० लाख ७० हजार पुर्याएको यस कम्पनीको जगेडा कोषमा १० करोड ३२ लाख रुपैयाँ सञ्चित रहेको छ । यस्तै कम्पनीको बीमा कोषमा ३३ करोड ६२ लाख रुपैयाँ र महाविपत्ती जगेडा कोषमा ६९ लाख १४ हजार रुपैयाँ सञ्चित छ।
इन्स्योरेन्सले १७ करोड ६१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन गत आवको यसै अवधिको तुलनामा २ करोड ३ लाख ८३ हजार बढी हो।
यस अवधिसम्ममा इन्स्योरेन्सले ५० हजार ९०० बीमालेख जारी गरि ३५ करोड ६८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।
यस अवधिमा कम्पनीले एक हजार २८ वटा दाबी वापत १० करोड ११ लाख २२ हजार रुपैयाँ दाबी भुक्तानी गर्दा अझै २ हजार ७० वटा दाबी वापत ३८ करोड २९ लाख २३ हजार रुपैयाँ भुक्तानी हुन बाँकी छ।
गत आवको यसै अवधिमा कम्पनीले ९०९ वटा दाबी वापत १४ करोड २८ लाख ३५ हजार रुपैयाँ दाबी भुक्तानी गर्दा अझै १ हजार ६९० वटा दाबी वापत २२ करोड ७६ लाख २ हजार रुपैयाँ भुक्तानी हुन बाँकी थियो। गत आवको तुलनामा चालु आवको ६ महिनामा कम्पनीको दाबी भुक्तानी सुस्त देखिएको हो।
यस अवधिमा इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ ४३ पैसा र मूल्य आम्दानी अनुपात ८८.५५ गुणा छ।
