नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दुई लघुवित्त कम्पनीको धितोपत्र कारोबार रोक्का गरेको छ । नेप्सेले मर्जर सम्पन्न भई भोलि सोमबारदेखि एकीकृत कारोबार थाल्दै गरेका मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था र समता घरेलु लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का गरेको हो ।
नेप्सेले दुबै कम्पनीको कारोबार समता घरेलु लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार शुरु हुने भएकाले धितोपत्र दर्ता गराएका संगठित संस्था एकापसमा गाभ्ने रगाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ को दफा ९ (३) बमोजिम सेयर कारोबार रोक्का गरेको जनाएको हो । यससँगै दुबै लघुवित्तको सेयर कारोबार कम्तिमा १५ दिन रोक्का रहनेछ ।
मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थालाई समता घरेलु लघुवित्त वित्तीय संस्थाले प्राप्ति गर्ने कार्य सम्पन्न भई असार २४ गतेदेखि दुई कम्पनीबीच एकीकृत कारोबार गर्दैछन् । हाल समताको चुक्ता पूँजी ३९ करोड ४१ लाख ५५ हजार र मनकामनाको १४ करोड ८४ लाख ७८ हजार रुपैयाँ रहेको छ । दुई लघुबीत १ः१ अनुपातको समान हैसियतको सेयर स्वाप रेसियोमा मर्जर भएका हुन् ।
काभ्रेपलाञ्चोकको बनेपा–७ मा केन्द्रीय कार्यालय रहेको समता घरेलु लघुवित्त र रुपन्देहीको सिद्धार्थनगर–५ मा केन्द्रीय कार्यालय रहेको मनकामना स्मार्ट लघुवित्तलाई आपसमा गाभिन गत जेठ २९ गते अन्तिम स्वीकृति दिएको थियो । मर्जरपछि बनेको कम्पनीको केन्द्रीय कार्यालय काभ्रेको बनेपा–७ मा रहनेछ । साथै डाटा माइग्रेसनका लागि आज असार २३ गतेदेखि दुबै कम्पनीले प्रदान गर्दै आएको सम्पूर्ण बैंकिङ्ग कारोबार बन्द रहेको थियो ।
दुवै लघुवित्तलाई एक आपसमा गाभिन नेपाल राष्ट्र बैंकले जेठ २९ गते अनुमति दिएको थियो । त्यस्तै, कम्पनी रजिष्ट्रार कार्यालयले असार ११ गते अन्तिम स्वीकृति दिएको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
