अरुण तेस्रोले वातावरण संरक्षणमा दुई अर्ब २१ करोड खर्च गर्ने

0
Shares

संखुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाले वातावरण संरक्षणका लागि दुई अर्ब २१ करोड रूपैयाँ दिने भएको छ ।

आयोजनाका विभिन्न संरचना निर्माण गर्दा उत्पन्न हुने वातावरणीय प्रभावलाई न्यूनीकरण गर्न सो रकम छुट्याइएको भारतीय निर्माण कम्पनी निगम (एसजेभिएन) ले जनाएको छ ।

आयोजनाले पहिलो चरणमा धूलो नियन्त्रण, पहिरो नियन्त्रण, सडकमा ग्राभेल र दोस्रो चरणमा सडक कालोपत्रे गर्न रकम दिने भएको सतलज कम्पनी एसजेभिएन तुम्लिङटारका सिइओ अरुण धिमानले बताए।

भौतिक संरचना निर्माणको क्रममा वर्षायाममा मानववस्ती, खतीयोग्य जमिन जोखिममा परेका छन् ।

अरुण तेस्रो आयोजना निर्माणको क्रममा अहिले दैनिक १५ देखि २० वटासम्म ठूला मालवाहक सवारीसाधन संखुवासभा भित्रिन्छ।

कच्ची सडक भएकाले जिल्ला भित्रिने ठूला सवारीको धुलोले मानववस्तीलाई असर पुगिरहेको छ।

आयोजनाको बाध निमार्ण र ड्याम साइड क्षेत्रमा गएको पहिरो रोकथाम गर्न नाली कटाउने, गाह्रो लगाउने काम भइरहेको बताइएको छ।

अरुण तेस्रोको पावर हाउसअन्तर्गत छ्याङकुटी–पुखुवा २८ किलोमिटर सडक खण्डमा स्थानीयको खेतीयोग्य जमिनमा लगाइएको सयौँ हेक्टरका अलैँची र धान खेत पहिरोले पुरेको भन्दै जिल्ला प्रशासन कार्यालय, चिचिला गाउँपालिका र सडक विभागमा निवेदन दिए पनि क्षतिपूर्ति नपाएको पीडितको गुनासो छ। रासस