सूर्योदय लघुवित्तले फागुन १० गतेबाट एकीकृत कारोबार थाल्ने

0
Shares

सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड (SLBS) ले त्रिलोक लघुवित्त वित्तीय संस्थालाई गाभेर फागुन १० गतेबाट एकीकृत कारोबार शुरु गर्ने भएको छ।

गत पुस ५ गते सम्पन्न दुवै लघुवित्तको साधारण सभाबाट एक आपसमा गाभ्ने/गाभिने प्रस्ताव अनुमोदन गराएसँगै नेपाल राष्ट्र बैंकले माघ ८ गते एकीकृत कारोबार गर्न स्वीकृती दिएको थियो।

कम्पनी रजिष्ट्रारको कार्यालयले समेत गाभिने संस्था त्रिलोक लघुवित्त वित्तीय संस्थाको सम्पूर्ण सम्पति तथा दायित्व गाभ्ने संस्था सूर्योदय लघुवित्त वित्तीय संस्थाले सकार्ने तथा बेहोर्ने गरी स्वीकृति दिएसँगै एकीकृत कारोबारको मिति तय भएको हो।

गत असार १९ गते एक आपसमा मर्जर सम्झौता गरेका दुई लघुवित्तले साढे ७ महिना पश्चात एकीकृत कारोबार सुरु गर्ने भएका हुन्। सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको मुख्य कार्यालय स्याङजा जिल्ला पुतलीबजार नगरपालिका १ मा रहेको छ भने त्रिलोक लघुवित्त वित्तीय संस्था लिमिटेडको मुख्य कार्यालय नवलपरासी जिल्ला सुनवल नगरपालिका –४ मा रहेको छ।

एकीकृत संस्थाको नाम सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड रहनेछ भने केन्द्रीय कार्यालय पनि साविकको सूर्योदय लघुवित्तको केन्द्रीय कार्यालय पुतलीबजार नगरपालिका वडा नम्बर १,स्याङजामा रहनेछ ।