हिमालयन पावर पार्टनरको विद्युत उत्पादन चैत ३० गतेदेखि मात्र हुने

0
Shares

हिमालयन पावर पार्टनरले आगामी चैत ३० गते (१२ अप्रिल २०२०) देखि मात्र विद्युत उत्पादन सुरु गर्ने भएको छ।

आयोजनामा २०७५ सालमा आएको बाढी पहिरो र टनेलमा भएको समस्या तथा नेपाल विद्युत प्राधिकरणले ट्रान्समिसन लाईनको निमार्णमा ढिलाई गर्दा आयोजनाबाट विद्युत उत्पादन गर्ने मिति साढे ७ महिना पर धकेलिएको हो। यसअघि कम्पनीले भदौ १४ गते (३१ अगस्ट २०१९ मा) नै विद्युत उत्पादन थाल्ने लक्ष्य लिएको थियो।

आम्दानीको मुख्य स्रोतबाट आम्दानी सुरु नभएपछि कम्पनीले आम्दानी तथा खर्चको हिसाव उल्लेख गरेको छैन। उसले प्रशासनिक खर्चलाई आयोजनामा पूँजीकृत गरिएको हुँदा आम्दानी तथा खर्च नरहेका कारण प्रतिशेयर आम्दानी र मूल्य आम्दानी अनुपात गणना गर्न नसकिएको वित्तीय विवरणमा उल्लेख गरेको छ।

लमजुङ्गको दोर्दी खोलामा २७ मेगावाटको आयोजना निमार्ण गरिरहेको यस आयोजनाको कूल सम्पत्ति ०.०७ प्रतिशत र दायित्व ८२.२९ प्रतिशतले वृद्धि भएको जनाएको छ।

चुक्ता पूँजी एक अर्ब ६ करोड ५४ लाख १७ हजार रुपैयाँ रहेको कम्पनीको सम्पत्ति तथा दायित्व ३ अर्ब २९ करोड ४८ लाख रुपैयाँ रहेको छ।