शेयर बजारमा लगातार तेस्रो दिन डेढ अर्ब बढीको कारोबार, सूचक भने घट्यो

0
Shares

सुधारउन्मुख देखिएको शेयरबजार बिहीबार सामान्य अंकले घटेकोपनि डेढ अर्ब बढीको शेयर किनबेच भएको छ । यो सहित यो साताको अन्तिम दिन कारोबार दिन नेप्सेमा डेढ अर्ब बढीको शेयर किनबेच भएको छ ।

साताको पहिलो र दोस्रो कारोबार दिन एक अर्ब भन्दा कम कारोबार भएको शेयर बजारमा मंगलबार, बुधबार र बिहीबार लगातार डेढ अर्ब बढीको शेयर किनबेच भएको छ । मंगलबार एक अर्ब ५३ करोड बढीको शेयर किनबेच भएको बजारमा बुधबार एक अर्ब ५० करोड बढीको कारोबार भएको छ भने बिहीबार एक अर्ब ७७ करोड बढीको शेयर किनबेच भयो।

अर्थमन्त्रालय तथा धितोपत्र बोर्डले शेयर बजारका गरेका नीतिगत सुधारका कामले शेयरलगानीकर्तामा उत्साह जाग्दा कारोबार रकममा बढोत्तरी आएको हो।

साथै नागारिक लगानीकोषले सर्वासधारणको समेत स्वामित्व हुनेगरी नागरिक स्टक डिलर कम्पनी दर्ता गरेको खबरले पनि बजारलाई थप गतिशिल बनाएको छ । उक्त कम्पनीले शेयरबजारमा झण्डै १५ अर्बसम्म लगानी गर्नसक्ने भएकाले पनि बजारमा सिनर्जी थपिएको लगानीकर्ता तथा विश्लेषकहरु बताउँछन् ।

बिहीबार नेप्से सूचक १.३९ अंकले घटेर १३४४.५९ विन्दुमा झरेको छ । १७२ कम्पनीको शेयर किनबेच भएको बजारमा १ अर्ब ७७ करोड ३८ लाख रुपैयाँ बढीको कारोबार भयो । कारोबारमा आएका १२ समूहमध्ये ५ वटा बाहेक बाँकी सबै समूहको सूचक बढेको छ । होटल र वैंकिङ समूहको गिरावटले बजार सकारात्मक हुन सकेन।

यसदिन हिमालयन डिष्टलरीको सबैभन्दा बढी १२ करोड बढीको शेयर किनबेच भयो ।शिवम सिमेन्ट पनि झण्डै दश करोड बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै गणपति लघुवित्त र हिमालयन डिष्टलरीको शेयर मूल्य ९.९३ प्रतिशतले बढेको छ । राद्यी विद्युत र एनलजी इन्स्योरेन्सका लगानीकर्ता पनि धेरै कमाउनेमा परे । सबैभन्दा धेरै मूल्य घट्नेमा नेपाल हाइड्रोपावर छ जसको मूल्य ३.१० प्रतिशतले घटेको छ । ओरियन्टल होटलको शेयर मूल्य पनि चार प्रतिशत बढीले घट्यो ।