पुससम्ममा साढे चार खर्ब रेमिट्यान्स भित्रियो, पछिल्लो महिना मात्रै ७० अर्ब

0
Shares

चालु आर्थिक वर्षको ६ महिना अवधिमा वैदेशिक रोजगारीमा गएका नेपालीहरुले ४ खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ विप्रेषण (रेमिट्यान्स) आप्रवाह भएको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा विप्रेषण आप्रवाह ०.९० प्रतिशतले वृद्धि भएको उल्लेख छ।

अघिल्लो वर्षको यही अवधिमा विप्रेषण आप्रवाह ३०.२० प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.३० प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १७.६ प्रतिशतले बढेको थियो ।

मंसिरपछि पुस महिनामा मात्रै ७० अर्ब २७ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । राष्ट्र बैंकको तथ्याङ्क अनुसार मंसिरसम्म ३ खर्ब ७६ अर्ब ९९ करोड रेमिट्यान्स भित्रिएको थियो।

रेमिट्यान्स बढेपनि नेपाल भित्रने वृद्धिदरमा भने अघिल्लो आवको यसै अवधिमा कमी आएको छ। यद्यपी वैदेशिक रोजगारीमा जाने क्रममा बढोत्तरी भएसँगै विप्रेषण आप्रवाह रकममा वृद्धि भएको हो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर आय ०.१ प्रतिशतले वृद्धि भई ५ खर्ब ६ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो आय २८.७ प्रतिशतले बढेको थियो।

अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या समीक्षा अवधिमा १७.७ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ३७.३ प्रतिशतले घटेको थियो।

पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या भने समीक्षा अवधिमा ०.५० प्रतिशतले बढेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो सङ्ख्या ४.५० प्रतिशतले बढेको थियो।