एक दर्जन कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, यस्ता छन् बिहीबार कमाउने र गुमाउने कम्पनीहरु

0
Shares

शेयर बजारमा उछाल आउँदा साताको अन्तिम कारोबार दिन बिहीबार एक दर्जन कम्पनीहरुको शेयरमूल्य करिब १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । कारोबारमा आएका १८० कम्पनीमध्ये १३४ को शेयरमूल्य बढेको छ भने २६ कम्पनीको मात्र शेयरमूल्य घटेको छ।

बिहीबार बोटलर्स नेपाल तराई, फस्ट माइक्रोफाइनान्स, एनएमबि माइक्रोफाइनान्स, कालिका लघुवित्त, मेरो माइक्रोफाइनान्स, तथा स्वाभिमान लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो।

यसैगरि आरएसडिसी लघुवित्त, तारागाउँ रिजेन्सी होटल, बुटवल पावर कम्पनी र ग्रामीण विकास लघुवित्त शिर्ष शेयरमूल्य बढ्ने दश कम्पनीभित्र समेटिएका छन्। नेरुडे लघुवित्त र फरवार्ड कम्युनिटी लघुवित्तको शेयरमूल्य पनि ९ प्रतिशत बढीले बढोत्तरी भएको छ।

उता राधी विद्युत कम्पनीको शेयरमूल्य सर्वाधिक घटेको छ । कम्पनीको शेयरमूल्य ४.३९ प्रतिशतले घटेर प्रतिकित्ता १७४ रुपैयाँमा झरेको हो। यस्तै समृद्धि फाइनान्स ३.७० प्रतिशत, नबिल इक्वीटी फण्ड २.८१ प्रतिशत र सर्पोट माइक्रोफाइनान्सको शेयरमूल्य २.६७ प्रतिशतले ओरालो लागेको छ।

यस्तै साल्ट ट्रेडिङ्ग, खानीखोला हाइड्रोपावर, आँखुखोला हाइड्रोपावर, एनसीसी बैंकको संस्थापक शेयर, लक्ष्मी इक्वीटी फण्ड र अपि पावर कम्पनीको शेयरमूल्य घट्दै शिर्ष गुमाउने दश कम्पनीमा समेटिएका छन्।

बजार खुलेदेखि नै तीब्र रुपमा बढेको नेप्से अन्त्यसम्ममा २९.३२ अंक बढेर १ हजार ४३४ दशमलव ५७ बिन्दुमा उक्लिएको छ। १८० कम्पनीका ५८ लाख २९ हजार ५१० कित्ता शेयर २ अर्ब ७८ करोड ५० लाख बराबरमा किनबेच भएको छ। जुन अघिल्लो दिन बुधबारको तुलनामा ६६ करोड रुपैयाँ बढी हो। कारोबारमा आएका ब्यापार र म्युचुअल फण्ड उपसमूह बाहेक अन्य सबै उपसमूहको सूचक बढेपछि नेप्सेसँगै कारोबार रकममा समेत सुधार आएको हो।

यसदिन शिवम सिमेन्टसको सबैभन्दा धेरै १७ करोड बढीको शेयर किनबेच भएको बजारमा हिमालयन डिष्टलरी र नेपाल लाइफको पनि १२ करोड बढीको कारोबार भएको छ।

यसैगरि ग्रामीण विकास लघुवित्तको ११ करोड, शिखर इन्स्योरेन्स १० करोड ६३ लाख, नेको इन्स्योरेन्सको ८ करोड ३० लाख, नागरिक लगानी कोष ८ करोड, फस्ट माइक्रोफाइनान्स ७ करोड ७८ लाख, मेरो माइक्रोफाइनान्स ७ करोड २ लाख र नेपाल इन्स्योरेन्सको ६ करोड ८२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो।