हिमाल दोलखाको आईपीओ बाँडफाँडको ६ महिनापछि सूचीकरण हुँदै

0
Shares

हिमाल दोलखा हाइड्रोपावरले जारी गरेको प्राथामिक शेयर (आईपीओ) बाँडफाँड भएको ६ महिनापछि नेपाल स्टक एक्सचेञ्जमा सूचीकरण हुने भएको छ । कम्पनीले सबै प्रकृया पूरा गरेर केही दिनभित्रै नेप्सेमा सूचीकरण गरेर कारोबार खुला गर्न लागेको हो।

कम्पनीले जारी गरेको आईपीओ सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सूचीकरण गरि लगानीकर्ताको डिम्याट खातामा पठाइसकेकाले केही दिनभित्रै नेप्सेमा सूचीकरण भई कारोबार खुलाउन लागिएको हो।

यसअघि कम्पनीले जारी गरेको सबै शेयर बिक्री नहुँदा शेयर प्रयाभूतिकर्ताहरुले शेयर सकार्न इन्कार गरेपश्चात भदौ ५ गते बाँडफाँड भएको आईपीओ शेयर सूचीकरणमा ढिलाई भइरहेको थियो।

हाइड्रोपावरले गत असार २५ गतेदेखि सर्वसाधारणका लागि (कर्मचारी तथा सामूहिक लगानी कोष सहित) कूल ७६ लाख ७२ हजार २१० कित्ता साधारण शेयर जारी गरेर गत भदौ ५ गते सदर भएका ७२ हजार २५५ जनालाई ३० लाख ९३ हजार २५० कित्ता शेयर बाँडफाँड गरेको थियो।
बाँकी ४५ लाख ७८ हजार ९६० कित्ता शेयर अवितरित भएकोमा शेयर प्रत्याभूतिकर्ताहरुले सकार्नुपर्ने अवस्था आएको थियो।

हाइड्रोपावरको शेयरमा नबिल इन्भेष्टमेन्ट एण्ड बैंकिङ्गले ३३.७१ प्रतिशत, बिओके क्यापिटलले ३२.८६, लक्ष्मी क्यापिटलले २५ र नेपाल बंगलादेश क्यापिटलले ८.४३ प्रतिशत शेयरको प्रत्याभूति गरेका थिए।

लक्ष्मी क्यापिटल बाहेक तीन क्यापिटलले शेयर सकार्न आनाकानी गरेपछि बाँडफाँड भएको ६ महिनासम्म शेयर सूचीकरण हुन सकेको थिएन।