सुन शुक्रबार थप महङ्गियो, दिनदिनै नयाँ रेकर्ड

0
Shares

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि नेपालीमा बजारमा पनि सुनको भाउले दिनदिनै नयाँ नयाँ रेकर्ड बनाउन थालेको छ। सुनको भाउ बिहीबार हालसम्म कायम भएको रेकर्डलाई तोडेर सर्वाधिक मूल्यमा कारोबार भएकोमा फागुन ९ गते शुक्रबार पुन: बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको भाउ प्रतितोला ७८ हजार १०० रुपैयाँ पुगेको छ। अघिल्लो दिनको तुलनामा सुनको भाउ प्रतितोला ५०० सय रुपैयाँले बढेको हो। सुनको भाउ बिहीबार पनि प्रतितोला ५०० सय रुपैयाँले बढेर ७७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

महासंघका अनुसार शुक्रबार तेजावी सुन पनि प्रतितोला ५०० रुपैयाँले बढेर ७७ हजार ८०० रुपैयाँमा पुगेको छ। चाँदी प्रतितोला ९१५ रुपैयाँ पुगेको छ। शुक्रबार चाँदीको भाउ भने स्थीर रहेको हो।

विहेको सिजनमा सुनको भाउ दैनिक उकालो लाग्न थालेपछि कारोबार प्रभावित भएको व्यवसायीहरु बताउँछन्। अघिले वर्ष फागुनमा दैनिक ४० देखि ५० किलोसम्म सुन बिक्रि हुने गरेकोमा अहिले दैनिक २०/२२ किलोमा सीमित भएको महासंघका वरिष्ठ उपाध्यक्ष मणिकरत्न शाक्यले बताए।

कोरोना भाईरसका कारण विश्व अर्थतन्त्र सुस्ताउँदा त्यसको असर चौतर्फी देखिएको सुन व्यवसायीहरुको भनाई छ।

विश्व बजारमा सुनको उत्पादन यथावत छ तर सुनमा लगानी गर्नेहरु बढेपछि अन्तराष्ट्रिय बजारमा सुनको मूल्य १६ सय डलर नाघेको व्यवसायीहरु बताउँछन् । कोरोनाका कारण अन्तराष्ट्रिय शेयर बजार सुताएको र मानिसहरुले सुनमा लगानी गर्न खोज्दा भाउ आकासिएको व्यवसायी शाक्यले बताए।