१५९ अंकको सुधारपछि नेप्सेमा दुई अंकको करेक्सन, ३४० करोडको कारोबार

0
Shares

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सात कारोबार दिनपछि सामान्य करेक्सन आएको छ। लगतार बढेको बजार १५९ अंकले बढेर १५०४ अंकसम्म पार गरेको थियो । सातौ दिनमा आएर करिब दुई अंकको करेक्सन भएको छ ।

सोमबार नेप्से सूचक १.९६ अंकले घटेर १५०२.१८ बिन्दुमा झरेको छ । बजारमा सामान्य करेक्सन आएपनि कारोबार रकम भने उत्साहप्रद नै रहेको छ ।

यसदिन १७९ कम्पनीको ८३ लाख ४८ हजार २३४ कित्ता शेयर ३ अर्ब ४१ करोड ५ लाख बढीको शेयर किनबेच भयो । कारोबार रकम अघिल्लो दिनको तुलनामा १९ करोड कम हो ।

सोमबार शेयर बजारमा भएको हालसम्मकै दोस्रो उच्च कारोबार हो । आइतबार ३ अर्ब ६० करोड बराबरको शेयर किनबेच भएको थियो ।

शेयर बजारले सुधारको गति समातेपछि नयाँ लगानीकर्ता प्रवेश गर्नुका साथै पुराना र संस्थागत लगानीकर्ताले समेत लगानी बढाउन थालेपछि पछिल्ला दिनहरुमा कारोबार उच्च हुँदै आएको छ ।

गत साता ५ कारोबार दिनमा ११ अर्ब बढीको शेयर किनबेच भएको थियो । यो साताको पहिलो दुई दिनमै ७ अर्ब बढीको शेयर किनबेच भईसकेको छ । कारोबारमा आएको उत्साहले शेयर लगानीकर्ताको मनोबल बढ्दै गएको छ भने ब्रोकर कम्पनीहरु लगानीकर्ताले भरीभराऊ हुन थालेका छन् ।

पछिल्लो चरणमा अनलाइन मार्फत शेयर किनबेच गर्ने लगानीकर्ताहरुको संख्या बढ्न थालेपछि कारोबार रकममा बढोत्तरी आउन थालेको छ । नेप्सेका अनुसार स्वेदेशबाट मात्र नभई विदेशबाट समेत शेयर लगानीकर्ताले अनलाइन कारोबार गर्न थालेका छन् । आइतबार ४१ करोड बराबरको शेयर विदेशबाट किनबेच भएको थियो ।

सोमबारको बजारमा वाणिज्य बैंक,उत्पादन र अन्य बाहेक सबै समूह नकारात्मक रहेपनि वाणिज्य बैंक समूहमा आएको उच्च सुधारले बजारमा ठूलो करेक्सन भएन । एनएमबि बैंकको सबैभन्दा धेरै २० करोड बढीको शेयर किनबेच भयो ।

यसदिन कालिका माइक्रो, मन्जुश्री फाइनान्स, युनियन हाइड्रो लगायतको शेयर उच्चदरले बढेको छ भने सबैभन्दा धेरै गुह्श्वरी मर्चेन्ट र प्रिमियर इन्स्योरेन्सको शेयरमूल्य ७ प्रतिशत बढीले ओरालो लाग्यो ।