हिमाल दोलखा हाइड्रोपावरको शेयर सूचीकृत, मंगलबारदेखि कारोबार खुल्दै

0
Shares

हिमाल दोलखा हाइड्रोपावरले जारी गरेको प्राथामिक शेयर (आईपीओ) बाँडफाँड भएको ६ महिनापछि फागनु १३ गते मंगलबारदेखि नेपाल स्टक एक्सचेञ्जमा कारोबार खुला हुने भएको छ ।

हाइड्रोपावर कम्पनीले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सूचीकरण पश्चात सोमबार नेप्सेमा दोस्रो बजारमा कारोबार गर्न मिल्नेगरि १ करोड ६० लाख कित्ता शेयर सूचीकरण गराएको हो।

यससँगै कम्पनीको आईपीओ शेयरमा लगानी गरेका लगानीकर्ताले मंगलबारबाट उक्त शेयर खरीद बिक्री गर्न सक्नेछन्। लामो समयसम्म शेयर सूचीकृत नहुँदा हाइड्रोको शेयरमा लगानी गरेका लगानीकर्ताको सम्पति बन्धक हुँदै आएको थियो।

नेप्सेले पहिलो कारोबारको लागि न्यूनतम नेटवर्थ ६५.३३ रुपैयाँदेखि नेटवर्थको ३ गुणासम्म अधिकतम १९५.९९ रुपैयाँसम्मसम्मको ओपनिङ्ग रेञ्ज तोकेको छ । यसअनुसार मंगलबार यहि कारोबार रेञ्जलाई आधार मानेर कारोबार खुल्नेछ। शेयर कारोबारका लागि कम्पनीलाई एचडिएचपिसी (HDHPC) कारोबार संकेत प्रदान गरेको छ ।अब कम्पनीको शेयर कारोबार यहि कारोबार संकेतमा कारोबार हुनेछ।

यसअघि कम्पनीले जारी गरेको सबै शेयर बिक्री नहुँदा शेयर प्रयाभूतिकर्ताहरुले शेयर सकार्न इन्कार गरेपश्चात भदौ ५ गते बाँडफाँड भएको आईपीओ शेयर सूचीकरणमा ढिलाई भइरहेको थियो।

हाइड्रोपावरले गत असार २५ गतेदेखि सर्वसाधारणका लागि (कर्मचारी तथा सामूहिक लगानी कोष सहित) कूल ७६ लाख ७२ हजार २१० कित्ता साधारण शेयर जारी गरेर गत भदौ ५ गते सदर भएका ७२ हजार २५५ जनालाई ३० लाख ९३ हजार २५० कित्ता शेयर बाँडफाँड गरेको थियो।
बाँकी ४५ लाख ७८ हजार ९६० कित्ता शेयर अवितरित भएकोमा शेयर प्रत्याभूतिकर्ताहरुले सकार्नुपर्ने अवस्था आएको थियो। यसअघि सर्वसाधारणमा जारी भएको शेयर सहित मंगलबार कूल १ करोड ६० लाख कित्ता शेयर सूचीकरण गराएको हो।