शेयर बजारमा रचियो नयाँ इतिहास, एकैदिन चार अर्ब १५ करोड कारोबार

0
Shares

गत महिनादेखि सुधारउन्मुख देखिएको शेयर बजारमा बुलिस ट्रेण्ड कायमै रहँदा बुधबारको बजारमा ऐतिहासिक कारोबार भएको छ भने नेप्से सूचक ३० महिना यता कै उच्च विन्दुमा गको छ।

फागुन १४ गते बुधबार करिब ५१ अंकले उकालो लागेको नेप्से ३० महिना यता कै उच्च बिन्दुमा पुगेको छ। बुधबार नेप्से ५०.९३ अंकले बढेर १५९६.१३ बिन्दुमा पुगको छ। २०७४ भदौमा नेप्से १ हजार ५९८ अंकको आसपासमा रहको थियो।

बुधबार बजार खुलेको केहि क्षणमै नेप्सेमा उच्चवृद्धि देखिएको थियो । नेप्से सूचकमा सुधार आउँदा कारोबार पनि उत्साहजनक भएको छ।

यसदिन १८० कम्पनीको ४ अर्ब १५ करोड ४८ लाख बराबरको शेयर किनबेच भएको छ। यो एकैदिन नेप्सेमा भएको सबैभन्दा उच्च कारोबार हो। यो हप्ताको चार दिनको अवधिमा नै १४ अर्ब बढीको शेयर किनबेच भएको छ। यस अघि गत बिहीबार सबैभन्दा धेरै ३ अर्ब ६० करोड बढीको कारोबार भएको थियो।

यसदिन कारोबारमा आएका सबै समूहका सूचक बढेका छन् । जीवन बीमा, उत्पादनमुलक समूह, होटल र बैकिङ समूहमा उच्च वृद्धि देखिएको छ। नेपाल लाइफको सबैभन्दा धेरै २१ करोड बढीको शेयर किनबेच भएको बजारमा शिवम सिमेन्टको साढे १८ करोड बढीको किनबेच हुँदा नेपाल बैंकको पनि झण्डै १८ करोड बराबरको किनबेच भएको छ। हिमालयन डिष्टिलरीको पनि १६ करोड बढीको किनबेच भयो। नेको इन्स्योरेन्स र नेपाल इन्स्योरेन्सको पनि दश करोड बढीको शेयर किनबेच भयो ।

एभरेष्ट बैंकको प्रिफेन्सियल शेयर, राष्ट्रिय बीमा संस्थान, युनिलिभर, गुराँस लाइफ, कालिका पावर, सिभिल लघुवित्त लगायतको शेयर १० प्रतिशत कै हाराहारीमा बढेको छ । सबैभन्दा धेरै शेयरमूल्य घट्ने राद्यी विद्युतको ८ प्रतिशतले मूल्य घटेको छ। बोटलर्स नेपाल तराई अरुण भ्याली हाइड्रो उच्चदरले शेयर मूल्य घट्ने कम्पनीमा परेका छन्।

शेयर बजारमा नयाँ लगानीकर्ताको प्रवेश र पुराना तथा अल्पकालीन कारोबारीहरुले लगानी बढाउँदा बजारमा दैनिक उच्च कारोबार हुने गरेको छ भने शेयरको माग समेत बढ्दा नेप्से समेत बढ्न थालेको छ।

तर यस प्रकारको वृद्धि जोखिमयुत्त हुने विश्लेषकहरु बताउँछन्। एकैपटक उच्च अंकको वृद्धि हुँदै आएको बजारमा बुलिस ट्रयापको खतरा बढ्दै गएको विश्लेषण समेत गर्न थालिएको छ। करेक्सन नभई लगातार बढेको बजारमा नयाँ लगानीकर्ताहरु फस्ने सम्भावना पनि उत्तिकै रहन्छ।