पाँच वर्षसम्मका लागि सुन निक्षेप राख्न सकिने, ब्याजदर बैंकले नै निर्धारण गर्ने

0
Shares

नेपाल राष्ट्र बैंकले अधिकतम ५ वर्षका लागि बैंकहरुमा सुन निक्षेप राख्न सकिने व्यवस्था गरेको छ। यसरी निक्षेप राखिएको सुनको ब्याजदर भने बैंकहरु आफैले निर्धारण गरेर निक्षेपकर्तालाइ त्रैमासीक रुपमा भुक्तानी दिनेछन ।

राष्ट्र बैंकले बैंकहरुले सुन निक्षेप लिने कार्यविधि तयार गरेर लागू गरेको छ । कार्यविधि अनुसार सुन निक्षेप राख्दा निक्षेपकर्ताले ब्याज नगदमा वा सुनमै पनि लिन सक्नेछन् ।

सुन निक्षेप राख्दा निक्षेपकर्ताले ३ वर्ष देखि ५ वर्ष सम्म राख्न सक्नेछन । साथै यसरी निक्षेप राखिएको सुन नविकरण गर्नसकिने व्यवस्था रहेको केन्द्रिय बैंकले जनाएको छ । सुन निक्षेप राख्दा ब्याजदरको सन्दर्भमा भने बैंक आफैले निर्धारण गर्नेछन । तर, सुन निक्षेप लिने बैंकले यस सम्बन्धी व्यवस्थाको सञ्चालक समितिमा निर्णय गराई केन्द्रीय बैंकमा जानकारी गराउनु पर्नेछ ।

बैंकले सुन निक्षेपको काम गर्नका लागि सञ्चालक समितिवाट निर्णय गराई राष्ट्र बैंकलाई जानकारी गराएपछि कार्यविधि अनुसार तोकिएको मापदण्डमा रहेर सुन निक्षेप लिन सक्ने व्यवस्था गरेको छ । कार्यविधि अनुसार बैंकहरुले २५ ग्राम भन्दा थोरै सुन निक्षेप लिन नसक्ने व्यवस्था रहेको छ । बैंकहरुले सुन निक्षेपको रुपमा स्विकार गर्दा ९९५ फिटनेको सुन मात्र स्विकार गर्नु पर्ने व्यवस्था गरेको छ ।

बैंकहरुले सुन निक्षेप राख्न आएका ग्राहकलाई सुन निक्षेप लिदाँका बखत नै आफुले जम्मा गरेको साँवा सुन र ब्याज सुनमै फिर्ता लिने वा नगदमा लिने यकिन गराउनु पर्नेछ। बैंकले सुन निक्षेप लिइसकेपछि सुनको साँवा परिमाण, सुनको सुद्धता, निक्षेपको ब्याजदर, निक्षेपको अवधि र निक्षेप अवधि पछि सावाँ तथा ब्याज सुनमा लिन चाहेको हो वा नगदमा लिन चाहेको हो सोको विवरण खुलाइ निक्षेपकर्तालाइ प्रमाणपत्र दिनु पर्ने व्यवस्था छ । यसरी निक्षेप राखिएको सुनको प्रमाणपत्रका आधारमा बैंकहरुवाट पुन ७० प्रतिशतसम्म कर्जा समेत लिन सकिने व्यवस्था गरिएको छ ।

बैंकले ग्राहकवाट लिएको सुन निक्षेप सिआरआर र एसएलआरमा गणना गर्न सक्नेछन । तर, यस प्रयोजनका लागि सिआरआर को अधिकतम २५ प्रतिशतसम्म मात्र सुनको निक्षेपको रुपमा गणना गर्न सक्ने व्यवस्था गरेको छ । यसरी बैंकले निक्षेप लिएको सुन परिपक्क अवधि भन्दा अघि भुक्तानी दिन पाइने छैन । ग्राहकले १० लाख रुपैयाँ भन्दा धेरैको सुन निक्षेप राख्दा स्रोत खुलाउनु पर्ने व्यवस्था गरेको केन्द्रीय बैंकले जनाएको छ ।

आर्थिक वर्ष २०७६/७७ को बजेटले बारम्बार निक्षेप अभावको समस्या झेल्ने बैंकहरुलाइ निक्षेपको रुपमा स्विकार गर्न मिल्ने नयाँ औजारको सुरुवात गरेको हो । बजेटले स्रोत अभावको समस्यालाइ सहज बनाउने उद्देश्यले सुन, चाँदी तथा बहुमुल्य धातुहरुलाई निक्षेपको रुपमा स्विकार गर्न सक्ने व्यवस्था गरेको थियो । सोही व्यवस्थालाइ कार्यान्वयन गर्दै केन्द्रिय बैंकले बिहीबार कार्यविधि नै बनाएर लागु गरेको हो ।

स्रोत अभावको समस्यालाई सहज बनाउने उद्देश्यले सुन, चाँदी तथा बुहुमुल्य धातुलाई पनि मनिटरी भ्यालु बनाई निक्षेप औजारको रुपमा विकास गर्न खोजिएको थियो । अर्थमन्त्री डा. युवराज खतिवडाले धितोको रुपमा मात्र प्रयोग हुदै आएको बहुमूल्य धातुलाई बैंकहरुमा निक्षेपको रुपमा पनि राख्न सकिने व्यवस्था गरेका हुन।