नेप्से ५% ले घटेपछि डेढ घण्टामै दोस्रो पटक रोकियो शेयर कारोबार, ४० मिनेटपछि पुन: खुल्ने

0
Shares

नेप्से परिसूचक ५ प्रतिशतले फागुन २७ गते मंगलबार कारोबारको एक घण्टा ३१ मिनेट अवधिमा नै दोस्रो पटक नेगेटिभ सर्किट लागेर शेयर कारोबार रोकिएको छ।

यसअघि ११ बजेर ५९ मिनेटमा नै ४ प्रतिशतले सूचक घट्दा २० मिनेट अवधिका लागि शेयर कारोबार रोकिएको थियो। त्यसको २० मिनेट पश्चात सुचारु भएको बजार १२ मिनेट नपुग्दै थप १ प्रतिशतले घटेपछि पुन: शेयर कारोबार रोकिएको हो। अबको ४० मिनेट पश्चात (१ बजेर ११ मिनेटमा) बजार पुन खुल्नेछ।

अब ४० मिनेटपछि खुल्ने बजारमा गिरावट निरन्तर भयो र ६ प्रतिशतले नेप्से घट्यो भने आज दिनभरको कारोबार स्थगित हुनेछ ।

बजारमा खरीदभन्दा उच्च बिक्री चापले नेप्सेमा पहिरो लागेपछि साढे २ घण्टाअगावै दोस्रो पटक नेगेटिभ सर्किट लागेर शेयर कारोबार बन्द भएको हो।

नेप्से परिसूचक ७२.०३ अंकले घटेर १ हजार ३६३ दशमलव ६६ बिन्दुमा झरेर बन्द भएको छ। १६० कम्पनीका २३ लाख ११ हजार कित्ता शेयर ९१ करोड ८० लाख रुपैयाँ बराबरमा खरीद बिक्री भएका छन्। कारोबारमा आएका सबै उपसूचमा पहिरो गएको छ भने नेपाल लाईफ र एनआईसी एशिया बैंकको ७ करोड बढीको शेयर खरीद बिक्री भएको छ।

कोरोना भाइरसका कारण विश्व अर्थब्यवस्थामा प्रभाव पर्न थालेपछि यतिबेला सबै देशको पूँजीबजार घटेको छ । संसार भरका शेयर बजार घटेपछि नेपालको शेयर बजारले पनि सोही लय समातेको छ।

प्रकाशित मिति: २७ फागुन २०७६, मंगलबार  १२ : ४६ बजे