शेयर कारोबारमा ६६% ले गिरावट, नेपाल लाइफमा आकर्षण कायमै

0
Shares

गत साताको तुलनामा यो साताको शेयर कारोबार रकममा ६६ प्रतिशतले गिरावट आएको छ । गत साता १६ अर्ब २१ करोड ९० लाख बराबरको शेयर किनबेच भएको बजारमा यो साता ५ अर्ब ५० करोड ४४ लाख बराबरको कारोबार भयो।

यो साता जम्मा तीन दिन मात्र कारोबार खुला रहेकाले कारोबार रकममा गिरावट आएको हो । साताको पहिलो दिन नारी दिवस र दोस्रो दिन फागु पर्वको सार्वजनिक विदाका कारण शेयर बजार बन्द रह्यो। तेस्रो दिन पनि नकारात्मक सर्किटले पुरा अवधि कारोबार हुन सकेन । साथै गत साताको भन्दा नेप्से सूचक घट्न थालेकाले पनि कारोबार प्रभावित भएको हो।

यस साता नेप्से परिसूचक ५८.५२ अंक अर्थात ४.०८ प्रतिशत घटेर एक हजार ३७७.१८ विन्दुमा झरेको छ। गत साताको अन्तिम दिन नेप्से १हजार ४३५.७ विन्दुमा बन्द भएको थियो। नेप्से ओरालो लागेपछि समग्र बजार पूँजीकरण समेत १८ खर्ब ३२ अर्ब बाट घटेर १७ खर्ब ६१ अर्बमा झरेको छ।

साताभरको शेयर कारोबारमा नेपाल लाइफ सबैभन्दा अगाडि रहेको छ । जसको ५२ करोड ७ लाख बराबरको शेयर किनबेच भयो। दोस्रोमा रहेको एनआईसि एशिया बैंकको ३४ करोड ५० लाख बराबरको शेयर किनबेच हुँदा एनएमबि बैंक, हिमालयन डिष्टलरी, नबिल बैंक, शिवम सिमेन्ट, ग्लोबल आइएमई, नेपाल बैंक, एभरेष्ट र प्रभु बैंक उच्च कारोबार हुने दश कम्पनीभित्र परेका छन्।

यस साता १८७ कम्पनीको शेयर किनबेच भएको नेप्सेले जनाएको छ।