शेयर बजारमा तीब्र उतार चढाव, अब के होला बजार ?

0
Shares

पछिल्लो दिनमा शेयर बजारमा तीब्र उतार चढाव देखिएको छ। फागुन १५ देखि १० दिन कारोबार भएकोमा यसबीचमा तीन कारोबार दिनमा ९१.५० अंकको वृद्धि भएको छ भने ४०७.२८ अंकले घटेको छ।

गत फागुन १५ गते अर्थात मार्च १ तारिख पश्चात यस वर्षकै उच्च बिन्दु १ हजार ६३२ बिन्दु छोएर घट्न थालेको बजार चैत ३ गते सोमबार १ हजार ३१६ बिन्दुमा रहेको छ। समग्रमा भने नेप्से ३१५.७८ अंकको तल्लो बिन्दुमा रहेको छ।

शेयर बजार घट्न थालेपछि धेरै लगानीकर्ता अब बजार कता जान्छ भन्ने अन्यौलमा परेका छन्। यसबीचमा दश कारोबार दिन कारोबार भएकोमा ७ कारोबार दिन घटेको छ भने ३ कारोबार दिनमा मात्र नेप्से बढेको छ। घट्दा उच्च अंकले घटेको छ भने बढ्दा निकै कम अंकमा मात्र सूचक वृद्धि भएको देखिएको छ।

कारोबार रकमका आधारमा हेर्ने हो भने यसबीचमा कारोबार रकमको प्रवृत्ति पनि घट्दो क्रममा रहेको पाइएको छ । सोमबार सहित दुई कारोबार दिन दैनिक पाँच घण्टा कारोबार शेयर खरीद बिक्री हुँदा समेत शेयर कारोबार रकम अझै घटेको छ।

फागुन मार्च १ तारिख अर्थात १५ गते ४८५ करोडको शेयर खरीद बिक्री भएकोमा चैत ३ गते आइपुग्दा कारोबार रकम १ अर्ब ६२ करोडमा झरेको छ। यसबीचमा कारोबार रकममा पनि तीब्र उतार चढाव नै देखिन्छ।

बजारमा आएको तीब्र उतारचढावका कारण शेयर लगानीकर्ता बजार प्रवेश गर्न डराइरहेको भएपनि बजारमा कारोबार रकम अहिले पनि उच्च नै रहेकाले अगामी दिनमा बजार थप घट्ने सम्भावना नरहेको जानकारहरु बताउँछन्। नेप्से सूचक १ हजार ११० बिन्दुबाट १ हजार ६३२ मा पुग्दा ५१२ अंकको वृद्धि भएकोमा ४०७ अंकको गिरावट आइसकेकाले पनि अब बजारमा बाउन्सब्याक हुनसक्ने आंकलन गरिएको छ।