शेयर लगानीकर्तालाई हल्लाको पछि नलागी सुझबुझपूर्ण निर्णय लिन बोर्डको आग्रह

0
Shares

नेपाल धितोपत्र बोर्डले शेयर बजारका लगानीकर्तालाई हल्लाको पछि लागेर हतोत्साहित भई निर्णय नलिन आग्रह गरेको छ।  पछिल्लो समय धितोपत्र बजारलाई कोरोना भाइरससंग जोडेर बजार प्रति नकारात्मक हल्लाहरु फैलाउने कार्य भइरहेको भन्दै बोर्डले लगानीकर्तालाई सुझबुझ तवरले लगानी सम्बन्धी निर्णय लिन अनुरोध गरेको हो।

लगानीकताहरुलाई धितोपत्र खरिद बिक्री सम्बन्धी निर्णय गर्दा सम्बन्धित क्षेत्र, उद्योग तथा कम्पनीहरुको हरेक पक्ष (आधारभूत तथा प्राविधिक) को जानकारी लिनुका साथै धितोपत्र बजारको अवस्था तथा बजार सुधारका कामकारवाहिहरुको अध्ययन गरेर मात्र लगानी गर्न भनेको हो।

बोर्डले धितोपत्रको प्राथमिक र दोस्रो बजार विकास तथा सुधारका विभिन्न कार्यहरु अगाडि बढाईरहेको, देशको समष्टिगत आर्थिक अवस्था तथा समग्रमा सूचीकृत कम्पनीहरुको वित्तीय अवस्था समेत सन्तोषजनक नै रहेको अवस्थामा हतोत्साहित भई हतार हतारमा धितोपत्र बिक्री सम्बन्धी निर्णय लिनुपर्ने अवस्था नरहेको स्पष्ट पारेको छ।

बोर्ड बजारलाई बजारको रुपमा नै चल्न दिनु पर्दछ भन्ने मान्यता रहेको तथा नियमनकारी निकायको रुपमा सधै धितोपत्र बजारको अवस्थालाई सुक्ष्मरुपले अध्ययन समेत गरिरहेको समेत बोर्डले जनाएको छ ।

नेपालमा हालसम्म कोरोना भाइरसको प्रकोप नदेखिएको र नेपाल सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न पूर्व सावधानीका विभिन्न कदमहरु चालेकोले आत्तिनुपर्ने अवस्था नरहेको बोर्डको भनाई छ।