नबिल बैंकको डिबेञ्चरमा आवेदन समय लम्बियो

0
Shares

नबिल बैंकको २ अर्ब रुपैयाँ बराबरको ऋणपत्रमा आवेदन दिने समय लम्बिएको छ। चैत २ गतेदेखि आइतबारदेखि सर्वसाधारणका लागि एक हजार रुपैयाँ अंकित दरमा ८ लाख कित्ता ऋणपत्र बिक्री खुला गरेको थियो। तर सबै बिक्री नभएपश्चात लामो अवधिसम्मका लागि आवेदन समय लम्बिएको हो।

यसअघि छिटोमा चैत ५ गतेसम्म आवेदन बन्दहुनेगरि निष्काशन भएको उक्त ऋणपत्रमा अब ढिलो समय अर्थात चैत १६ गतेसम्म आवेदन गर्न सकिनेछ। उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि दरखास्त दिन सक्नेछन् भने अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्।

नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिन्छ।

बैंकले कूल दुई अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र जारी गरेकोमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरेर बाँकी ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो।

सर्वसाधारणका लागि निष्काशन गरिने कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ४० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ।

७ वर्ष अवधिको उक्त बैंकले ऋणपत्रमा बार्षिक १० प्रतिशत ब्याजदर प्रदान गर्ने जनाएको छ । बैंकले निष्काशन गर्न लागेको ऋणपत्रलाई इक्रा नेपालले इक्रा एनपी एल डबल ए माइनस रेटिङ्ग प्रदान गरेको छ।

प्रकाशित मिति: ६ चैत २०७६, बिहीबार  ०९ : ०८ बजे