कोरोना भाइरस नियन्त्रणका लागि उद्योगी व्यवसायीबाट दुई/दुई लाख सहयोग

0
Shares

झापामा रहेका उद्योगी व्यवसायीले कोरोना भाइरसको नियन्त्रणका लागि दुई/दुई लाख रुपैयाँ सहयोग गर्ने भएका छन्।

व्यवसायीहरुको छाता सङ्गठन उद्योग वाणिज्य सङ्घमार्फत झापाका उद्योगी व्यवसायीले जिल्लास्थित विपद् व्यवस्थापन कोषमा रकम जम्मा गर्ने भएका हुन्।

विर्तामोडस्थित अतिथि सदनमा शनिबार भएको सर्वपक्षीय भेलामा विर्तामोड, झापा, मेची र दमक उद्योग वाणिज्य सङ्घले दुईरदुई लाख रुपैयाँ र अन्य वाणिज्य सङघले एक।एक लाख रुपैयाँ विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय भएको जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले जानकारी दिए।

कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन जिल्लास्थित विपद् व्यवस्थापन समितिले रु ५० लाखको कोष खडा गरेको छ। बैठकमा उद्योग तथा व्यवसायीले मजदूर राखेको भए लकडाउनको अवधिभर उनीहरुलाई खान, बस्नको व्यवस्था गर्न आग्रह गरिएको छ।

सहकारी सङ्घलाई विपन्न नागरिकलाई आवश्यक खाद्यान्न राहतको तयारी गरी स्थानीय तहसँग समन्व्य गरेर वितरणको व्यवस्था गर्न र विभिन्न सामाजिक सङ्घ संस्थालाई राहत कोषमा सहयोग गर्न आह्वान समेत गरेको छ।

खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तुलाई सहजरूपमा बिक्री वितरण र आपूर्तिको व्यवस्था मिलाउन व्यवसायीहरुले पहल गर्ने निर्णय भएको छ। बैठकमा नेकपा झापाका अध्यक्ष चिन्तन पाठक, नेपाली काङ्ग्रेसका सभापति उद्धव थापा, प्रमुख जिल्ला अधिकारी उदय राना, प्रहरी उपरीक्षक कृष्ण कोइराला, श्रीनयाँ श्रीनाथ गणका गणपति अमरजङ्ग थापा, सशस्त्र प्रहरीका रेशमकुमार थक्सू, रेडक्रस झापाका सभापति लोकराज ढकाल लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति: १६ चैत २०७६, आइतबार  ११ : १८ बजे