प्रदेश २ सरकारले लकडाउन अवधिभर विपन्न र मजदुरहरुको खानाको व्यवस्था गर्ने

0
Shares

प्रदेश २ सरकारले लकडाउन अवधीभर प्रदेश सरकारले गरीब तथा दैनिक ज्यालादारीमा खट्ने मजदुर, विपन्न समुदाय,हरुको खानाको व्यवस्था गर्ने भएको छ। जसको व्यवस्थापन स्थानीय तहसँग समन्वय गरेर गर्ने निर्णय प्रदेश २ को मन्त्रिपरिषदले गरेको प्रदेश २ का मुख्यमन्त्रीका प्रेस संयोजक आतिश मिश्राले जानकारी दिए। यस विषयमा सबै स्थानीय तहलाई निर्देशन दिइएको छ।

यसका लागी प्रत्येक स्थानीय तहमा स्थानीय तहका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, सुरक्षा निकायका प्रतिनिधिहरु, स्थानीय समाजसेवी संस्थाहरु सम्मलित सर्वपक्षीय समिति गठन गरिने कार्यविधि बनाइएको छ । भोलिसम्ममा कार्यविधि बनाएर प्याकेजको विषयमा टुङ्गो लाग्ने भूमी, व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्र साहले जानकारी दिए ।

स्थानीय तहसँग समन्वय गरेर तत्कालको लागि महानगरलाई २५ लाख, उपमहानगरलाई २० लाख, नगरपालिकालाई १५ लाख र गाउँपालिकालाई १० लाखको दरले रकम पठाउने निर्णय गरेको छ। प्रदेश २ मा १ महानगरपालिका, ३ उपमहानगरपालिकासहित १३६ वटा स्थानीय तह रहेको छ । 

यसैगरि कोरोनाको उपचारमा खटिने चिकित्सकहरुको जीवन बीमाका साथै शतप्रतिशत प्रोत्साहन भत्ता समेत दिइने निर्णय भएको छ । प्रदेश २ सरकारले छाक टार्न समस्या हुने मजदुर, किसान, र विपन्न श्रमिकहरुको पहिचान गरि विशेष प्याकेज ल्याउने सर्वपक्षीय बैठक (प्रतिपक्षी नेकपा र नेपाली कांग्रेस समेत) मा सहमति भएको छ।

  • पचास श्रमिकको उद्दार

सप्तरीको पूर्व–पश्चिम राजमार्गको विभिन्न ठाउँमा अलपत्र परेका श्रमिकको उद्दार गरिएको छ । सरकारले गरेको ‘लकडाउन’का कारण विभिन्न कारखानामा काम गर्ने ५० जना श्रमिकको सप्तरीबाट उद्दार गरी आ–आफ्नो घर पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।

कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सरकारले गएको मङ्गलबारदेखि देशैभरि लकडाउन गरेपछि खाद्यान्न तथा यातायात नपाउँदा श्रमिक अलपत्र परेका थिए।

मोरङ, सुनसरी र सप्तरीको विभिन्न कारखानामा कार्यरत मजदुर यातायात नपाउँदा घरका लागि पैदल नै हिँडेका थिए। उनीहरुलाई प्रहरीले विभिन्न स्थानीय तहसँग समन्वय गरी उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

सडकमा पैदल हिँडिरहेका श्रमिकलाई नास्ता खुवाई सर्लाहीको लालबन्दीसम्म पठाइएको जिप्रकाका प्रवक्ता प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए । प्रहरी नायब उपरीक्षक भारतीका अनुसार उद्दार गरिएका सर्लाहीका ३८, रौतहट, बारा र सिरहाका चार÷चारजना श्रमिकलाई आ–आफ्नो गृह जिल्ला पठाइएको हो ।

सरकारले ‘लकडाउन’ गरेपछि र कारखाना बन्द भएपछि खाद्यान्न अभावमा समस्यामा परेर घरका लागि पैदल नै हिँडेका श्रमिकलाई सडकमा फेला पारेपछि कञ्चनरुप नगरपालिका र रुपनी गाउँपालिकासँग समन्वय गरी सम्बन्धित ठाउँमा पठाउन पहल गरिएको बताए ।

गृह मन्त्रालयको आदेशमा ना १ क ६२६७ नं टिपरलाई पास उपलब्ध गराएर श्रमिकलाई सर्लाहीको लालबन्दी जानका लागि अनुमति दिइएको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बताए।

प्रकाशित मिति: १६ चैत २०७६, आइतबार  १३ : ०९ बजे