गभर्नर सिफारिस समितिमा भट्टराई र बास्कोटा सदस्य

0
Shares

सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि अर्थमन्त्रीको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ। १६ चैतमा बसेको मन्त्रीपरिषद्को बैठकले गभर्नर नियुक्तिको लागि सिफारिस समिति बनाएको हो।

अर्थमन्त्रीको संयोजकत्वमा गठित समितिमा पूर्व गभर्नर विजयनाथ भट्टराई र पूर्व अर्थसचिव कृष्णहरि बास्कोटा सदस्य रहेका छन् ।

नेपाल राष्ट्र बैंक ऐनअनुसार, अर्थमन्त्रीको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समितिले गभर्नरको लागि तीन जनाको नाम सिफारिस गर्नुपर्छ। समितिले सिफारिस गरेको तीन जनामध्येबाट एक जनालाई मन्त्रीपरिषदले नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्ति गर्ने कानूनी व्यवस्था छ।

समितिले गभर्नरका लागि सिफारिस गर्दा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, ब्यवस्थापन तथा वाणिज्य कानुन क्षेत्रको लब्धप्रतिष्ठित ब्यक्तिहरू मध्येबाट दुईजना छान्नु पर्छ। एकजना भने राष्ट्र बैंकका डेपुटी गभर्नर मध्येबाट छान्नुपर्ने कानुनी ब्यवस्था छ। 

राष्ट्र बैंकमा गभर्नर रहेका डा. चिरञ्जिवी नेपालको पाँच वर्षे कार्यकाल गत ४ चैतमा सकिए यता नेपाल राष्ट्र बैंकमा गभर्नरको पद खाली छ। अहिलेका लागि सरकारले डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीलाई कामयमुकाय गभर्नरको जिम्मेवारी दिएको छ।

प्रकाशित मिति: १७ चैत २०७६, सोमबार  १४ : ४९ बजे